

काठमाडौँ – भोटेकोशी बाढी प्रभावित क्षेत्रमा मातृ तथा नवजात शिशु, बालबालिका र प्रजनन स्वास्थ्य सेवाको अवस्था नियमित रूपमा अनुगमन गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले समिति गठन गरेको छ।
बाढी आएको २४ दिनपछि मन्त्रालयले प्रभावित जिल्लामा मातृ तथा बाल स्वास्थ्य सेवाको अवस्था अनुगमन र आवश्यक सेवा सुनिश्चित गर्ने उद्देश्यले समिति बनाएको हो।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट र धादिङमा स्वास्थ्य सेवासँगै मातृ तथा नवजात शिशु स्वास्थ्य, बाल स्वास्थ्य र प्रजनन स्वास्थ्य सेवामा प्रत्यक्ष तथा अप्रत्यक्ष असर परेको मन्त्रालयले जनाएको छ।
विपद्का बेला यी सेवामा आउन सक्ने अवरोध तथा स्वास्थ्य जोखिम समयमै पहिचान गरी आवश्यक सेवा उपलब्ध गराउन नियमित अनुगमन आवश्यक देखिएपछि समिति गठन गरिएको मन्त्रालयको भनाइ छ।
मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठन गरिएको समितिमा स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक र कान्ति बाल अस्पतालका निर्देशक सदस्य रहेका छन्। समितिले आवश्यकता अनुसार अन्य विषयविज्ञलाई समेत बैठकमा आमन्त्रण गर्न सक्नेछ।
समितिले बाढी प्रभावित क्षेत्रमा मातृ तथा नवजात शिशु स्वास्थ्य, बाल स्वास्थ्य र प्रजनन स्वास्थ्य सेवाको अवस्था नियमित रूपमा अनुगमन गर्नेछ। त्यसैगरी आवश्यक स्वास्थ्य जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको उपलब्धता र विपद्पछिका स्वास्थ्य जोखिम पहिचान गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ।
अनुगमनका क्रममा देखिएका समस्या तथा थप आवश्यकताका आधारमा सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गरी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा निरन्तर राख्न तथा आवश्यक थप सेवा उपलब्ध गराउन समितिले पहल गर्ने मन्त्रालयले जनाएको छ।



