

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा उपचार कार्यलाई प्रभावकारी बनाउन मातहतका निकायलाई सक्रिय रहन निर्देशन दिएको छ।
मन्त्रीस्तरीय उच्च व्यवस्थापन समूहको बैठकले गरेको निर्णयअनुसार मन्त्रालयले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत बाढीपहिरो प्रभावित तटीय क्षेत्रहरूमा तत्काल आवश्यक स्वास्थ्य सेवा तथा राहत उपलब्ध गराउन विभाग, अस्पताल, प्रतिष्ठान र कर्मचारीहरूलाई परिपत्र जारी गरेको हो।
मन्त्रालयले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति गहिरो समवेदना पनि प्रकट गरेको छ।
विपद् व्यवस्थापनको काम नसकिँदासम्म विशेष तथा अत्यावश्यक कामबाहेक कर्मचारीहरूको बिदा र काज स्वीकृत नगर्न मन्त्रालयले निर्देशन दिएको छ।
यस्तै, खोजी, उद्धार र उपचार कार्यमा खटिएका निकायका प्रमुख, फोकल पर्सन तथा जिम्मेवार पदाधिकारीहरू सार्वजनिक बिदाका दिनमा समेत अनिवार्य रूपमा कार्यालयमा उपस्थित हुनुपर्नेछ। अन्य कर्मचारीलाई भने आवश्यक पर्दा तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन भनिएको छ।
अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई बिदाका दिनमा समेत घाइतेको उपचारका लागि आवश्यक सबै व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको छ। साथै, विपद् प्रभावित क्षेत्रमा आ–आफ्नो जिम्मेवारीअनुसार सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न पनि आग्रह गरिएको छ।
रसुवासहित आसपासका जिल्लामा बाढीपहिरोबाट प्रभावित नागरिकलाई स्वास्थ्य सेवा, खोजी तथा उद्धारमा कुनै कमी हुन नदिन मन्त्रालयले मातहतका सबै निकायलाई तयारी अवस्थामा राखेको जनाएको छ।




