

काठमाडौं – नेपाल औषधि आयातकर्ता संघले रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति सहज बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको हो।
विपद्का बेला अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीको नियमित र निर्बाध आपूर्ति महत्वपूर्ण हुने भन्दै संघले सरकारका सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्य गर्ने जनाएको छ।
प्रभावित क्षेत्रमा औषधिको अभाव हुन नदिन संघका सदस्य तथा औषधि आयातकर्ता व्यवसायीलाई आवश्यकताअनुसार परिचालन गर्ने प्रतिबद्धता समेत संघले जनाएको छ।
औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति शृङ्खला प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै सरकारी निकाय, स्वास्थ्य संस्था, स्थानीय तह तथा अन्य सरोकारवालासँग समन्वय गरी प्रभावित क्षेत्रमा आवश्यक सामग्री पुर्याउन सक्दो सहयोग गर्ने संघका महासचिव मधु पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
संघले जनस्वास्थ्य संरक्षणमा सरकारको साझेदारका रूपमा विपद्को समयमा जिम्मेवार र सहयोगी भूमिका निर्वाह गर्ने जनाएको छ।



