

काठमाडौँ – मौसमजन्य तथा महामारीजन्य रोगको व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्दै आएको स्वास्थ्य सेवा विभाग विगत तीन महिनादेखि निमित्त महानिर्देशकको भरमा सञ्चालन भइरहेको छ ।
देशभर मौसमी रोगको जोखिम बढिरहेका बेला स्वास्थ्य सेवाको मुख्य निकायमै स्थायी नेतृत्व नहुँदा जनस्वास्थ्य व्यवस्थापन र निर्णय प्रक्रियामाथि प्रश्न उठ्न थालेको छ । पछिल्लो चार महिनामा मात्रै सर्पदंशका कारण ६६ जना र जापानी इन्सेफलाइटिस (जेई) बाट १६ जनाको मृत्यु भएको तथ्याङ्कले पनि जोखिमको अवस्था देखाउँछ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा १२औँ तहका दुई जना अतिरिक्त सचिव कार्यरत रहे पनि स्वास्थ्य सेवा विभागको महानिर्देशक पद भने रिक्त छ । मन्त्रालयले ११औँ तहका अधिकृत डा. अनुज भट्टचनलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको छ ।
विभागको संगठनात्मक संरचनाअनुसार महानिर्देशक स्वास्थ्य सेवा समूहका १२औँ तहका कर्मचारी हुनुपर्ने व्यवस्था छ । तर, हाल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भट्टचनले विभागको नेतृत्व सम्हालिरहेका छन् ।
मन्त्रीस्तरीय निर्णयबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले गत वैशाख ३० गते डा. भट्टचनलाई अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त महानिर्देशकको जिम्मेवारी तोकेकी थिइन् ।
मन्त्रालयमा डा. संगीता कौशल मिश्र र डा. श्रीकृष्ण श्रेष्ठ गरी दुई जना अतिरिक्त सचिव कार्यरत छन् । विभागको महानिर्देशकमा अतिरिक्त सचिवलाई जिम्मेवारी दिने कानुनी व्यवस्था हुँदाहुँदै पनि उनीहरूलाई मन्त्रालयमै राखिएको छ ।
जनस्वास्थ्य विज्ञहरूका अनुसार स्वास्थ्य सेवा विभाग लामो समयसम्म निमित्त नेतृत्वमा रहँदा महत्वपूर्ण नीतिगत तथा प्रशासनिक निर्णय प्रभावित हुन सक्छन् । विशेषगरी विपद् तथा महामारीका बेला आकस्मिक स्वास्थ्य सेवा, एम्बुलेन्स, रक्तदान, रोग नियन्त्रण तथा अनुसन्धानका कार्यक्रमलाई तीव्र रूपमा अघि बढाउन स्थायी नेतृत्व आवश्यक हुन्छ ।
पूर्व उपमहानिर्देशक चूडामणि भण्डारीले पनि विभागलाई लामो समयसम्म निमित्तको भरमा सञ्चालन गर्न नहुने बताए । उनका अनुसार निमित्त नेतृत्व हुँदा स्वास्थ्यजन्य खरिद प्रक्रिया तथा अन्य महत्वपूर्ण निर्णयमा असहजता आउन सक्छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार वैशाखयता ९५६ जनालाई सर्पले टोकेकोमा ६६ जनाको मृत्यु भएको छ । त्यस्तै, नेपालमा हालसम्म ५८ जनामा जापानी इन्सेफलाइटिस पुष्टि भएको र १६ जनाको मृत्यु भएको परिवार कल्याण महाशाखाले जनाएको छ ।
मनसुनसँगै हैजा, डेंगी, झाडापखाला, स्क्रब टाइफस, औलो तथा इन्फ्लुएन्जाजस्ता रोगको जोखिम पनि बढेको छ । खानेपानीका स्रोत दूषित हुने तथा सरसफाइमा समस्या आउँदा संक्रमण फैलिने सम्भावना बढी हुने स्वास्थ्य अधिकारीहरूको आकलन छ ।
महामारी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका लागि आगामी आर्थिक वर्षमा ३० करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । विभागले रोग रोकथाम तथा उपचारका लागि समुदायदेखि प्रादेशिक र केन्द्रीय अस्पतालसम्म एकीकृत पूर्वतयारी थालेको जनाएको छ ।
स्वास्थ्य सेवा विभाग मात्र होइन, देशकै जेठो सरकारी अस्पताल वीरमा समेत १२औँ तहको पुल दरबन्दी रहे पनि मन्त्रालयले हालसम्म कर्मचारी पठाउन सकेको छैन । कोभिड–१९ का बेला युनिफाइड अस्पताल बनाउँदा वीर अस्पतालमा प्रमुख विशेषज्ञ अर्थात् १२औँ तहको एक पद पुल दरबन्दीका रूपमा सिर्जना गरिएको थियो । मन्त्रिपरिषद्ले २०७८ मा उक्त पद कायम गरी वीर अस्पतालमा खटाउने निर्णय गरे पनि हालसम्म अतिरिक्त सचिवहरू त्यहाँ जान आनाकानी गरिरहेका छन् ।



