

काठमाडाैं- सुदूरपश्चिम भ्रमणमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल स्वास्थ्यमा समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरबाट बैतडीबाट धनगढी हुँदै काठमाडौं ल्याइएपछि अहिले एउटा प्रश्नले चर्चा पाएको छ। त्याे प्रश्न हाे- ‘सामान्य भाइरल ज्वरोको उपचारका लागि मन्त्री काठमाडौं जानुपर्ने अवस्था सुदूरपश्चिममा छ ?’
सरकारी आयोजनाको अनुगमनका क्रममा दार्चुला हुँदै बैतडी पुगेका मन्त्री लम्साललाई भाइरल ज्वरो र रुघाखोकीको समस्या देखिएको थियो। स्वास्थ्यमा समस्या आएपछि बैतडीबाट नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पुगाइएका उनलाई थप उपचारका लागि आइतबार साँझ नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइएकाे हो। अहिले उनको काठमाडौंस्थित वीरेन्द्र अस्पताल छाउनीमा उपचार भइरहेको मन्त्रीको सचिवालयले जनाएको छ।
मन्त्री लम्सालमा निद्रा अपुग हुनु, मुटुको धड्कन बढ्नु, ज्वरो तथा रुघाखोकीलगायतका समस्या देखिएको जिल्ला अस्पताल बैतडीका एमडीजीपी डा. पविन उपाध्यायले बताएका छन्। लगातारको व्यस्तता, आफैं सवारी चलाएर लामो दूरीको यात्रा गर्नु र धनगढी तथा बैतडीको तापक्रममा आएको फरकले पनि स्वास्थ्यमा असर गरेको हुनसक्ने उनकाे भनाइ छ।
तर मन्त्रीलाई सामान्य स्वास्थ्य समस्यामै राज्यको विशेष उद्धार संयन्त्र तत्काल परिचालन गरेर काठमाडौं लगिएको घटनाले सुदूरपश्चिमको स्वास्थ्य सेवाको अवस्थामाथि भने बहस सुरु गरिदिएको छ।
मन्त्री लम्साल बिरामी परेको समयमा नै बैतडीमा भाइरल ज्वरोका बिरामीको संख्या बढिरहेको स्वास्थ्य संस्थाहरूले बताएका छन्।
जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तका अनुसार अस्पतालमा दैनिक करिब २ सय बिरामी उपचारका लागि पुग्ने गरेका छन्। तीमध्ये करिब १ सय २० जना भाइरल ज्वरोका बिरामी हुने गरेका छन्। अर्थात् अस्पतालमा आउने बिरामीमध्ये करिब ६० प्रतिशत भाइरल ज्वरोबाट प्रभावित रहेको उनको भनाइ छ।
स्वास्थ्यकर्मीका अनुसार भाइरल ज्वरोसँगै टाइफाइड, डेंगी र स्क्रबटाइफसका बिरामी पनि फाटफुट रूपमा स्वास्थ्य संस्थामा पुगिरहेका छन्। ज्वरो आउने, चिसो महसुस हुने, हल्का खोकी लाग्ने, घाँटी दुख्ने, हाच्छ्युँ आउने, नाकबाट पानी बग्ने तथा टाउको, शरीर र हाडजोर्नी दुख्ने जस्ता लक्षण देखिने गरेका छन्।
मन्त्री काठमाडौं गएपछि उठेका प्रश्न
मन्त्रीको उपचारका लागि हेलिकप्टर र नेपाली सेनाको विमान तत्काल परिचालन भएपछि सामाजिक सञ्जालमा राज्यको स्वास्थ्य सेवामा रहेको असमान पहुँचबारे प्रश्न उठाइएको छ।
सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाका कतिपय बस्तीमा सामान्य औषधिसमेत सहज उपलब्ध नभएको, गम्भीर बिरामी र सुत्केरीलाई समयमै अस्पताल पुर्याउन नसक्दा समस्या हुने गरेको र सडक नपुगेका क्षेत्रमा एम्बुलेन्स सेवा प्रभावकारी हुन नसकेको गुनासो स्थानीयको छ।
यस्तो अवस्थामा उच्च पदस्थ व्यक्ति बिरामी पर्दा तत्काल हेलिकप्टर उपलब्ध हुनु र सामान्य नागरिकले उपचारका लागि घण्टौँ यात्रा गर्नुपर्ने अवस्थाबीचको फरकले नागरिकमा असन्तुष्टि देखिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता दिनेश बाहुनले सामाजिक सञ्जालमार्फत मन्त्रीलाई काठमाडौं लैजान भएको खर्च, हेलिकप्टर प्रयोगको स्रोत र त्यसको जिम्मेवारीबारे प्रश्न उठाएका छन्। उनले सामान्य नागरिकले भाइरल ज्वरो वा रुघाखोकी लाग्दा पनि यस्तै सुविधा पाउने अवस्था छ कि छैन भन्ने प्रश्न गर्दै खर्च सार्वजनिक गर्नुपर्ने बताएका छन्।
बाहुनले फेसबुकमा लेखेका छन्– ‘मन्त्रीज्यूको ज्वरो हेलिकप्टर राइडले सन्चो भयो होला नि हैन र ? तर केही गम्भीर प्रश्नको जवाफ चाहिन्छ। बैतडीबाट धनगढी हुँदै काठमाडौं लैजान कति खर्च भयो ? सेनाको हेलिकप्टर प्रयोग भएको हो भने खर्च कसले व्यहोर्यो ? मन्त्रीज्यूले आफ्नै खल्तीबाट कि राज्यकोषबाट ? खर्च सार्वजनिक गरियोस्। सामान्य नागरिकलाई भाइरल ज्वरो वा रुघाखोकी लाग्दा के उसले पनि सेनाको हेलिकप्टर पाउँछ ? कि ऊ उपचारका लागि घण्टौँ धाएर, ऋण खोजेर अस्पताल पुग्नुपर्ने ?’
त्यस्तै, कञ्चनपुरमा कार्यरत स्वास्थ्यकर्मी गोविन्द विष्टले पनि अहिले मौसमी भाइरल ज्वरोका कारण धेरै नागरिक बिरामी भइरहेका बेला कतिपय ठाउँमा सामान्य औषधि नपाउने अवस्था रहेको भन्दै स्वास्थ्य सेवामा समान पहुँचको प्रश्न उठाएका छन्।
विष्टले लेखेका छन्– ‘अहिले मौसमी भाइरल ज्वरोका कारण धेरै नागरिक बिरामी छन्। कतिपय ठाउँमा सामान्य प्यारासिटामोलसमेत नपाएर नागरिक उपचारबाट वञ्चित हुनुपर्ने अवस्था छ। तर मन्त्री वा उच्च पदस्थ व्यक्ति बिरामी पर्दा तत्काल हेलिकप्टर प्रयोग गरेर उपचारका लागि लैजान सकिन्छ । स्वास्थ्यको अधिकार सबै नागरिकको समान होइन र ?’
धनगढीमा कार्यरत अर्का स्वास्थ्यकर्मी तिर्थ राज जोशीले समेत सुदूरपश्चिममै २४ घण्टा सेवा दिने सेती प्रादेशिक अस्पताल, जिल्ला अस्पताल तथा निजी अस्पतालहरू हुँदाहुँदै मन्त्रीलाई काठमाडौं लैजानुपर्ने अवस्थाले यहाँका स्वास्थ्य संस्थामाथि नै प्रश्न खडा गरेको टिप्पणी गरेका छन्।
उनले लेखेका छन्– ‘धनगढीमा चौबिसै घण्टा सेवा दिने सेती प्रादेशिक अस्पताल अनि जिल्ला अस्पताल र सुविधासम्पन्न निजी अस्पतालहरू हुँदाहुँदै, सामान्य ‘भाइरल ज्वरो’ आउने बित्तिकै मन्त्रीलाई सरकारी ‘प्लेन’ र ‘हेलिकप्टर’ चढाएर काठमाडौँ नै लैजानुपर्ने ? आफ्नै क्षेत्रका अस्पताल र चिकित्सकमाथि अलिकति पनि भरोसा नहुने कस्ता ‘जनप्रतिनिधि’ होलान् ! यहाँ नेतालाई ओछ्यानमै प्लेन आइपुग्छ, तर दूरदराजका गरिब जनताले एउटा ‘सिटामोल’ नपाएर ज्यान गुमाउनुपर्छ। जबसम्म नेताहरूको उपचार यहीँका सरकारी अस्पतालमा अनिवार्य गरिँदैन, तबसम्म न त यहाँको स्वास्थ्य प्रणाली सुध्रिन्छ, न गरिबले न्याय पाउँछन्!’
के सुदूरपश्चिममा उपचार सम्भव थिएन ?
तर मन्त्री लम्साललाई काठमाडौं लगिएको घटनालाई आधार बनाएर सुदूरपश्चिममा भाइरल ज्वरोको उपचार नै सम्भव छैन भन्ने निष्कर्ष निकाल्न भने नहुने स्वास्थ्य अधिकारीहरूको भनाइ छ।
स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका निमित्त निर्देशक डा. खगेन्द्रबहादुर बमका अनुसार सुदूरपश्चिममा आधारभूतदेखि विशेषज्ञ सेवासम्म उपलब्ध अस्पताल छन्। महाकाली र सेती प्रादेशिक अस्पतालमा अत्याधुनिक प्रयोगशाला तथा विभिन्न विशेषज्ञ चिकित्सकसमेत उपलब्ध रहेको उनले बताए।
उनका अनुसार मन्त्रीको उपचारका विषयमा व्यक्तिगत निर्णय, स्वास्थ्यसम्बन्धी गोपनीयता तथा बाहिर नखुलाइएका अन्य स्वास्थ्य कारणसमेत हुनसक्ने भएकाले केवल भाइरल ज्वरोकै आधारमा काठमाडौं लगिएको निष्कर्ष निकाल्न नमिल्ने हुन्छ।
‘उहाँको उपचार जहाँ पनि गर्न पाउनुहुन्छ। त्यसैले काठमाडौं गएको हुनसक्छन्। तर यो घटनाकै आधारमा सुदूरपश्चिमका अस्पतालको गुणस्तर र क्षमतामाथि प्रश्न उठाउन मिल्दैन,’ डा. बमले भने।
तर, मन्त्री लम्साललाई काठमाडौं लगिएको घटनाको मुख्य प्रश्न उनले काठमाडौंमा उपचार गर्न पाउनुहुन्छ कि हुँदैन भन्ने होइन। प्रश्न हो– राज्यले आफ्ना सबै नागरिकलाई समान स्वास्थ्य सुविधा दिन सकेको छ कि छैन ?
मन्त्री बिरामी पर्दा केही घण्टामै हेलिकप्टर पुग्न सक्छ। तर, दुर्गम गाउँमा एउटी सुत्केरीलाई अस्पताल पुर्याउन घण्टौँ लाग्छ। उच्च पदस्थ व्यक्तिका लागि विशेषज्ञ सेवा भएको राजधानीसम्म तत्काल पहुँच सम्भव छ। तर त्यही क्षेत्रका सामान्य नागरिक सामान्य औषधिका लागि समेत स्वास्थ्य संस्था धाउन बाध्य छन्।
त्यसैले यो घटना सुदूरपश्चिमको स्वास्थ्य प्रणालीमाथि प्रश्न उठाउने एउटा अवसर बनेको छ। मन्त्रीलाई काठमाडौं लगिएकोमा मात्र आलोचना गर्नु भन्दा पनि राज्यले दुर्गम नागरिकलाई पनि आवश्यक पर्दा त्यस्तै गुणस्तरीय उपचार, विशेषज्ञ सेवा, औषधि र आकस्मिक उद्धार सुविधा कहिले सुनिश्चित गर्छ भन्ने प्रश्नको जवाफ खोज्नु अहिले बढी महत्वपूर्ण देखिन्छ।
मन्त्री लम्सालको स्वास्थ्यमा गम्भीर समस्या नरहेको चिकित्सकहरूले बताएका छन्। तर उनको उपचारका लागि प्रयोग भएको विशेष राज्य संयन्त्रले भने सुदूरपश्चिममा वर्षौंदेखि उठ्दै आएको अर्को प्रश्न उठेकाे छ। त्याे प्रश्न हाे- ‘सुदूरपश्चिमका नागरिकले पनि राज्यको स्वास्थ्य सेवा पाउन मन्त्रीजत्तिकै पहुँच कहिले पाउने ?’



