

लखनउ – भारतको उत्तर प्रदेशमा नक्कली तथा शंकास्पद औषधिको कारोबारविरुद्ध गरिएको कारबाहीका क्रममा ठूलो नेटवर्क फेला परेको छ। उत्तर प्रदेश खाद्य सुरक्षा तथा औषधि प्रशासन (एफएसडीए) ले लखनउको अमीनाबादमा छापा तथा अनुसन्धानका क्रममा वास्तविक औषधि आपूर्ति नगरी नक्कली बिलिङ, क्रस–बिलिङ र कागजी कारोबारमार्फत औषधि बजारमा पुर्याउने गरेको पत्ता लगाएको हो।
घटनामा चार जनाविरुद्ध भारतीय न्याय संहिता (बीएनएस) का विभिन्न धाराअनुसार अमीनाबाद प्रहरी थानामा मुद्दा दर्ता गरिएको छ। मुद्दामा हेल्थ प्लसका सञ्चालक अंकुर अवस्थी, एमके फार्माका सञ्चालक मनीष बाजपेयी, राम फार्माका सञ्चालक गोविन्द शुक्ला र सहारनपुरस्थित प्यासन्ट केयर सर्जिकल हाउसका सञ्चालक ऐजाज अहमदलाई आरोपी बनाइएको छ।
विभागका अनुसार यी फर्मबीच वास्तविक औषधि आपूर्ति नगरी आपसमा बिल काट्ने र कागजमा कारोबार देखाएर औषधिको खरिद–बिक्रीको रेकर्ड तयार गर्ने गरिएको थियो। हेल्थ प्लसले वैध औषधि लाइसेन्सबिनै औषधिको भण्डारण तथा कारोबारको रेकर्ड राखेको आरोपसमेत छ।
अनुसन्धानका क्रममा एमके फार्माले आर्थिक वर्ष २०२६ मा करिब ८ करोड ८७ लाख रुपैयाँ बराबरको औषधि खरिद देखाएको पाइएको विभागले जनाएको छ। त्यसमध्ये Zoryl M1, Augmentin र Dexorange Syrup लगायत औषधिको खरिदसम्बन्धी कागजातमा शंका देखिएपछि उत्पादक तथा सम्बन्धित फर्मसँग गरिएको प्रमाणीकरणमा ती औषधिको बिक्री अस्वीकार गरिएको र सम्बन्धित ब्याचलाई नक्कली भनिएको विभागको दाबी छ।
जाँचका क्रममा एमके फार्माबाट Zoryl M1 का करिब ३९ लाख २० हजार ट्याब्लेटको हिसाबसमेत नदेखिएको विभागले जनाएको छ। नक्कली औषधि बजारमा पुर्याइएको भए त्यसले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने अधिकारीहरूले बताएका छन्।
विभागले घटनामा नक्कली अभिलेख तयार पार्ने, कागजात किर्ते गर्ने, नक्कली औषधिको कारोबार तथा अवैध आम्दानीसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।
लखनउसँगै आगरा लगायतका क्षेत्रमा पनि नक्कली, पुनः लेबल गरिएका तथा सरकारी आपूर्तिका औषधिको अवैध कारोबारविरुद्ध कारबाही भइरहेको विभागले जनाएको छ। आगरा क्षेत्रमा मात्रै विभिन्न कारबाहीबाट ३ करोड ६३ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध तथा नक्कली औषधि बरामद गरिएको दाबी गरिएको छ।
एफएसडीएले नक्कली औषधिको कारोबारमा संलग्न अन्तरराज्यीय नेटवर्कबारे समेत अनुसन्धान अघि बढाएको छ। दोषी भेटिएका औषधि व्यवसायीको लाइसेन्स खारेज गर्नुका साथै आपराधिक कारबाही गरिने विभागले जनाएको छ।



