

काठमाडौँ – स्वास्थ्य बीमा कार्यक्रमबाट उपलब्ध हुने औषधिको सूची स्वास्थ्य बीमा बोर्डले परिमार्जन गरेको छ। नयाँ ‘सुविधा थैली’ लागू भएसँगै बीमितले बीमा योजनाअन्तर्गत पाउने औषधिको सङ्ख्या १ हजार २८९ बाट घटेर १ हजार १०२ प्रकारमा सीमित भएको छ।
बोर्डले नयाँ सूची तयार गर्दा १८७ प्रकारका औषधि हटाएको जनाएको छ। समान उपचारमा प्रयोग हुने एउटै प्रकृतिका औषधिको दोहोरोपन हटाउने, सरकारले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क उपलब्ध गराउने औषधीलाई बीमा सूचीबाट अलग गर्ने तथा नेपालमा प्रयोगमा नरहेका औषधी हटाउने उद्देश्यले सूची पुनरवलोकन गरिएको हो।
स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार एउटै प्रयोजनका समान प्रकृतिका औषधि बीमा सूचीमा धेरै हुँदा दोहोरोपन देखिएको थियो। त्यस्तै सरकारले स्वास्थ्य संस्थामार्फत निःशुल्क दिने औषधीसमेत बीमा सुविधामा समावेश हुँदा एउटै औषधिमा दुईवटा सरकारी सुविधा प्रयोग हुने अवस्था थियो।
नयाँ व्यवस्थाले यस्तो दोहोरोपन हटाउँदै सरकारी स्रोतको प्रभावकारी उपयोग गर्ने अपेक्षा गरिएको बोर्डले जनाएको छ।
बोर्डले गत असार ३० गतेको बैठकबाट नयाँ सुविधा थैली स्वीकृत गरेको थियो। नयाँ व्यवस्था साउन ५ गतेदेखि कार्यान्वयनमा आइसकेको छ।
औषधिको सूची घटाइए पनि बीमितले पाउने उपचार सेवामा उल्लेख्य असर नपर्ने बोर्डको दाबी छ। प्रयोगमा नरहेका तथा समान प्रकृतिका औषधि हटाइएकाले आवश्यकताअनुसार वैकल्पिक औषधीबाट उपचार सेवा निरन्तर रहने जनाइएको छ।
बोर्डले सूची परिमार्जन गर्दा बीमितलाई आवश्यक उपचारबाट वञ्चित हुन नदिने विषयलाई प्राथमिकतामा राखिएको स्पष्ट पारेको छ।



