

धरान – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बीमाअन्तर्गत ओपिडी सेवा, अभिलेखीकरण र दाबी व्यवस्थापनलाई थप व्यवस्थित बनाउन नयाँ व्यवस्था लागू गरेको छ।
स्वास्थ्य बीमा दाबी समीक्षा तथा मूल्याङ्कन कार्यविधि, २०७८ को पहिलो संशोधन, २०८१ अनुसार सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले प्रतिष्ठानले साउन २५ गते सूचना जारी गर्दै नयाँ व्यवस्था लागू गरेको हो।
नयाँ व्यवस्थाअनुसार स्वास्थ्य बीमाअन्तर्गत ओपिडी टिकट तोकिएको कार्यालय समयभित्र मात्रै दर्ता गर्न सकिनेछ। एकपटक दर्ता गरिएको ओपिडी टिकट सात दिनसम्म मान्य हुनेछ। उक्त अवधिभित्र सोही विभागमा फलोअप सेवा लिन पुनः ओपिडी दर्ता गर्नुपर्ने छैन।
चिकित्सकले अर्को विभागमा सिफारिस गरेमा वा सात दिनको म्याद सकिएपछि थप सेवा लिन पुनः ओपिडी दर्ता गर्नुपर्नेछ। बिमितले आफ्नो इच्छाअनुसार अर्को विभागमा सेवा लिन चाहेमा पनि नयाँ दर्ता आवश्यक हुनेछ। तर त्यसका लागि सोही दिन अन्य कुनै विभागको ओपिडी वा फलोअप सेवा लिएको हुनुहुँदैन।
त्यस्तै, प्रयोगशाला, रेडियोलोजी, औषधि तथा अन्य सेवाको बिलिङ गर्नुअघि बिमितले आफ्नो ओपिडी कार्डसहित तोकिएको काउन्टरमा उपस्थित भएर अनिवार्य रूपमा स्क्यानिङ गराउनुपर्नेछ। स्क्यानिङ पूरा भएपछि काउन्टरका कर्मचारीले ओपिडी कार्डमा ‘स्क्यान्ड’ छाप लगाउनुपर्ने व्यवस्था गरिएको छ।
प्रतिष्ठानले चिकित्सकका लागि पनि अभिलेखीकरणसम्बन्धी व्यवस्था कडाइ गरेको छ। चिकित्सकले ओपिडी कार्डमा बिरामीको रोग पहिचान, उपचार योजना, आवश्यक परीक्षण तथा सिफारिस गरिएका औषधिको विवरण स्पष्ट र पढ्न सकिने गरी उल्लेख गर्नुपर्नेछ। साथै चिकित्सकको नाम, नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर र हस्ताक्षर वा आधिकारिक छापसमेत अनिवार्य गरिएको छ।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. इन्द्र कुमार लिम्बुका अनुसार तोकिएको प्रक्रिया र सर्त पूरा नभए स्वास्थ्य बीमाअन्तर्गतका सेवाको बिलिङ प्रक्रिया अघि बढ्ने छैन। त्यस्तो अवस्थामा सम्बन्धित दाबी अस्वीकृतसमेत हुन सक्ने प्रतिष्ठानले जनाएको छ।
नयाँ व्यवस्थाले स्वास्थ्य बीमाअन्तर्गत प्रदान हुने सेवाको अभिलेखलाई व्यवस्थित बनाउनुका साथै सेवा प्रवाह, बिलिङ र दाबी व्यवस्थापन प्रक्रियालाई थप पारदर्शी बनाउने प्रतिष्ठानको अपेक्षा छ।




