

काठमाडौं – निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले ओपीडी सेवा थप व्यवस्थित र बिरामीमैत्री बनाउन टिकट वितरण प्रणालीमा परिवर्तन गरेको छ। अस्पतालले सोमबारदेखि लागू हुने गरी चिकित्सकको नाममै ओपीडी टिकट जारी गर्ने व्यवस्था पुनः लागू गरेको हो।
यसअघि अस्पतालमा बिरामीले सम्बन्धित विभागको नाममा मात्रै टिकट काट्ने व्यवस्था थियो। मेडिसिन, हाडजोर्नी, छाला रोगलगायत विभागको टिकट लिए पनि कुन चिकित्सकसँग जाँच हुने भन्ने कुरा टिकटमै उल्लेख हुँदैनथ्यो।
नयाँ व्यवस्थापछि भने बिरामीले आफूले परामर्श लिन चाहेको चिकित्सकको नाम चयन गरेर सोही नाममा ओपीडी टिकट लिन सक्नेछन्। यसले उपचार प्रक्रियालाई थप सहज, पारदर्शी र व्यवस्थित बनाउने अस्पताल प्रशासनको विश्वास छ।
अस्पतालका अनुसार चिकित्सकको नाममै टिकट जारी हुँदा बिरामीले आफूले भेट्न चाहेको चिकित्सकबारे पहिले नै जानकारी पाउने, अनावश्यक अन्योल हट्ने र सेवा प्रवाहमा समेत प्रभावकारिता बढ्ने अपेक्षा गरिएको छ।



