

काठमाडौं- बीएम फाउन्डेसनले ताइवान प्रिभेन्ट ब्लाइन्डनेस (टीपीबी) फाउन्डेसन र बुढानीलकण्ठ नगरपालिका–५ को सहयोगमा बुढानीलकण्ठ–५ मा निःशुल्क सामुदायिक आँखा परीक्षण शिविर सञ्चालन गरेको छ।
शिविरमा ७६ पुरुष र ३६ महिलासहित कुल ११२ जनाको विस्तृत आँखा परीक्षण गरिएको थियो। सहभागीमध्ये अधिकांश वृद्धवृद्धा रहेको जनाइएको छ, जसले समुदायमा सहज र गुणस्तरीय आँखा स्वास्थ्य सेवाको आवश्यकता बढ्दो रहेको संकेत गरेको आयोजकले जनाएको छ।

परीक्षणका क्रममा २४ जनामा परिपक्व तथा अपरिपक्व मोतिबिन्दुको समस्या पहिचान भएको थियो। त्यसबाहेक आँखा सुख्खा हुने समस्या (ड्राइ आई सिन्ड्रोम), पिङ्गुकुला, कन्जङ्क्टिभाइटिसलगायत अन्य सामान्य आँखासम्बन्धी समस्या पनि भेटिएका थिए।
थप उपचार आवश्यक रहेका व्यक्तिहरूलाई परामर्श प्रदान गर्दै उपयुक्त स्वास्थ्य संस्थामा रेफर गरिएको आयोजकले जनाएको छ।

शिविरको उद्देश्य समयमै आँखा रोगको पहिचान गरी रोकथाम गर्न, टार्न सकिने अन्धोपन न्यूनीकरण गर्न तथा स्थानीय समुदायमा गुणस्तरीय आँखा उपचार सेवाको पहुँच विस्तार गर्नु रहेको बताइएको छ।





