

काठमाडौं- आज देशभर साउन १५ का अवसरमा परम्पराअनुसार खीर खाएर पर्व मनाइँदै छ। असार १५ मा दही–च्यूरा खाने र साउन १५ मा खीर खाने नेपाली परम्परा पुस्तौंदेखि चलिआएको मानिन्छ। वर्षायाममा तातो खीर स्वास्थ्यका लागि लाभदायी हुने विश्वासका कारण यो चलन स्थापित भएको हो।
दूध, चामल, चिनी तथा विभिन्न मसला मिसाएर बनाइने खीरलाई संस्कृतमा ‘पायस’ भनिन्छ। धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार पायस सात्विक भोजनमध्ये उत्कृष्ट मानिने भएकाले वैदिक परम्परामा देवकार्य र पितृकार्यमा समेत यसको विशेष महत्व रहेको छ।
नेपालमा चामलको खीर सबैभन्दा बढी प्रचलित भए पनि साबुदाना, सेवइ, मकै, गाजरलगायतबाट पनि खीर बनाउने चलन छ। साउन महिनामा हरियो मकै प्रशस्त पाइने भएकाले मकैको खीर पनि धेरै ठाउँमा बनाइन्छ।
पोषणविद्का अनुसार खीर स्वादिलो मात्र होइन, पोषणयुक्त परिकार पनि हो। पोषणविद् डा. जया प्रधानका अनुसार वर्षायाममा विभिन्न संक्रमणको जोखिम बढ्ने भएकाले दूधबाट बनेको खीरले शरीरलाई आवश्यक ऊर्जा र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुर्याउँछ।
खीरमा प्रयोग हुने चामल कार्बोहाइड्रेटको राम्रो स्रोत हो भने दूधबाट क्याल्सियम र प्रोटिन प्राप्त हुन्छ। गाईको दूधबाट बनाइएको खीरमा भिटामिन ‘ए’ पनि पाइन्छ। घ्यू र सुक्खा फल मिसाउँदा आवश्यक फ्याट, भिटामिन, खनिज तथा मिनरलसमेत प्राप्त हुने भएकाले खीर अझ पौष्टिक बन्ने विज्ञहरू बताउँछन्।
नरम परिकार भएकाले खीर बालबालिका, ज्येष्ठ नागरिक र बिरामीका लागि पनि उपयुक्त मानिन्छ। विशेषगरी चिल्लोरहित दूधबाट बनाइएको खीर पाचन प्रणाली कमजोर भएका व्यक्तिले पनि सजिलै पचाउन सक्छन्। तर मधुमेह, दूध वा चिनी सेवन गर्न नहुने व्यक्तिले भने चिकित्सकको सल्लाहअनुसार मात्रै खीर खानुपर्ने सुझाव दिइएको छ।



