

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले प्रा. डा. गोविन्द केसीको आमरण अनशन तत्काल अन्त्य हुने वातावरण बनाउन सरकारसँग आग्रह गरेकी छन्। उनले डा. केसीका जायज मागहरू ढिलाइ नगरी सम्बोधन गर्दै संवादमार्फत समाधान खोज्नुपर्ने बताएकी छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै डा. कार्कीले डा. केसीलाई आमरण अनशन बस्नुपर्ने अवस्था नै आउन नहुने उल्लेख गरिन्। उनले प्रधानमन्त्री, शिक्षामन्त्री र स्वास्थ्य मन्त्रीले डा. केसीसँग प्रत्यक्ष संवाद गरी चिकित्सा शिक्षा सुधारका विषयमा सहकार्य गर्नुपर्ने धारणा राखिन्।
उनले विगतमा सरकार र डा. केसीबीच भएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै यस विषयमा शिक्षामन्त्री र प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण गराइसकेको जानकारी दिइन्।
“शरीर गलेपछि, आन्दोलन चर्किएपछि, मिडिया जागेपछि र जनदबाब बढेपछि मात्र माग सम्बोधन गर्ने पुरानो प्रवृत्ति दोहोरिनु हुँदैन,” उनले उल्लेख गरेकी छन्।
डा. कार्कीले डा. केसीले गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विरोध गरेको भन्ने प्रचार भ्रामक रहेको स्पष्ट पारिन्। उनका अनुसार डा. केसीको मुख्य माग गेटामा ३०० शय्याको अस्पताल तत्काल सञ्चालनमा ल्याउने र एमबीबीएस अध्ययन शीघ्र सुरु गर्ने हो।
उनले सुदूरपश्चिममा विशिष्ट सेवासहितको अस्पताल र चिकित्सा शिक्षा विस्तारका लागि डा. केसीले विगतमा सञ्चालन गरेका आन्दोलनकै कारण गेटामा ठूलो पूर्वाधार निर्माण सम्भव भएको उल्लेख गर्दै त्यस योगदानलाई तोडमोड गरेर प्रस्तुत गर्नु उचित नहुने बताइन्।
सांसद कार्कीले आफूले पनि अघिल्लो कार्यकालमा गेटामा ३०० शय्याको अस्पताल सञ्चालन गर्न र सम्बन्धित विधेयक छिटो टुंग्याउन संसद तथा संसदीय समितिमा पटक–पटक आवाज उठाएको स्मरण गराइन्। उनले गेटाको संरचना चिकित्सा शिक्षामै केन्द्रित देशकै एकमात्र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा अघि बढ्नु सकारात्मक उपलब्धि भएको बताउँदै त्यसलाई जोगाउनुपर्ने धारणा व्यक्त गरिन्।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि डा. गोविन्द केसीले सञ्चालन गर्दै आएको अभियानप्रति आफ्नो समर्थन निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै उनले भनिन्, “नेपाली जनताको हित केन्द्रित चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको अभियानमा आदरणीय प्रा. डा. गोविन्द केसीसँग सधैं थिएँ, छु र रहनेछु।”



