

गुल्मी- गुल्मी अस्पताल तम्घासमा अत्याधुनिक इकोकार्डियोग्राफी (इको) सेवा सञ्चालनमा आएको छ। च्वाइस ह्युमानिटेरियनको सहयोगमा नयाँ इकोकार्डियोग्राफी मेसिन प्राप्त भएपछि अस्पतालले मुटुरोग पहिचानका लागि यो सेवा सुरु गरेको हो।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा जनरल फिजिसियन विशेषज्ञ डा. विभव बस्यालका अनुसार नयाँ मेसिनमार्फत मुटुको बनोट, कार्यक्षमता र विभिन्न जटिल समस्याको प्रभावकारी परीक्षण गर्न सकिनेछ। यसले मुटुरोगको प्रारम्भिक अवस्थामै पहिचान गर्न, आवश्यक परे जटिल बिरामीलाई उच्चस्तरीय अस्पतालमा रेफर गर्न तथा सम्भव भएका बिरामीको उपचार गुल्मी अस्पतालमै गर्न सहज हुने उनले बताए।
उनका अनुसार यसअघि प्रयोगमा रहेको पुरानो मेसिनबाट धेरै प्रकारका मुटुसम्बन्धी समस्या पहिचान गर्न कठिनाइ हुने गरेको थियो। नयाँ सेवा हरेक दिन बिहान ११ बजेदेखि उपलब्ध हुने अस्पतालले जनाएको छ।
मालिका गाउँपालिका–८ का धनबहादुर पौडेलले आफ्नै जिल्लामा इको सेवा सुरु भएपछि नियमित परीक्षणका लागि बुटवल जानुपर्ने बाध्यता हटेको बताए।
दैनिक करिब ३०० बिरामीले सेवा लिने गुल्मी अस्पतालमा हाल हाडजोर्नी, स्त्रीरोग, बालरोग, हेमोडायलाइसिस, अक्सिजन प्लान्ट, स्वास्थ्य बीमालगायतका विभिन्न विशेषज्ञ सेवा सञ्चालनमा छन्। अस्पतालले मासिक रूपमा क्यान्सर परीक्षण शिविरसमेत सञ्चालन गर्दै आएको छ।
अस्पताल विकास समितिका अध्यक्ष राजेन्द्र पाण्डेले नयाँ अस्पताल भवन निर्माणमा ढिलाइ हुँदा सेवा विस्तार प्रभावित भएको बताए। उनले एचडियु, आइसियु, हेमोडायलाइसिसका लागि जनशक्ति व्यवस्थापन तथा पूर्वाधार विस्तारका लागि तीनै तहका सरकारसँग समन्वय भइरहेको जानकारी दिए।



