

जनकपुरधाम- जनकपुरधामका सरकारी तथा निजी अस्पतालबाट निस्कने जोखिमयुक्त स्वास्थ्यजन्य फोहोरको उचित व्यवस्थापन नहुँदा स्थानीयवासीको स्वास्थ्य र वातावरणमा गम्भीर जोखिम बढेको छ। संक्रमित सामग्रीदेखि प्रयोग भइसकेका सिरिन्ज, रगत लागेका कपडा र औषधिका अवशेषसमेत खुला रूपमा फालिने गरेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
स्थानीय भुलन साहका अनुसार अस्पतालजन्य फोहोरबाट निस्कने दुर्गन्धले दैनिक आवतजावत गर्ने मानिससमेत प्रभावित हुने गरेका छन्। कुकुर, गाईवस्तु र चराचुरुङ्गीले फोहोर बस्ती तथा खेतबारीसम्म पुर्याउने गरेकाले संक्रामक रोग फैलिने जोखिम झन् बढेको उनको भनाइ छ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा. दिगविजयकुमार ठाकुरले अस्पतालजन्य फोहोरको अव्यवस्थित व्यवस्थापनले जनस्वास्थ्यमा गम्भीर असर पार्ने चेतावनी दिएका छन्। विशेषगरी वर्षायाममा यस्तो फोहोर पानीसँगै विभिन्न क्षेत्रमा फैलिने भएकाले संक्रमणको जोखिम थप बढ्ने उनले बताए। उनका अनुसार यस्ता फोहोरका कारण स्क्रब टाइफस, फोक्सोसम्बन्धी रोगलगायत विभिन्न संक्रामक रोग फैलिन सक्छन्।
इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानले पनि स्वास्थ्य संस्थाबाट निस्कने फोहोरको वैज्ञानिक वर्गीकरण, सुरक्षित ढुवानी र अन्तिम व्यवस्थापन कानुनी मापदण्डअनुसार हुन नसकेको बताए। यसले सार्वजनिक स्वास्थ्यसँगै वातावरणमा समेत गम्भीर असर पारेको उनको भनाइ छ।
जनकपुरधाम उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विजयकुमार साहका अनुसार उपमहानगरपालिकाअन्तर्गत २६ वटा र प्रदेश सरकारअन्तर्गत ५० भन्दा बढी स्वास्थ्य संस्था सञ्चालनमा छन्। सामान्य फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट भए पनि अस्पतालजन्य जोखिमयुक्त फोहोर व्यवस्थापनका लागि छुट्टै वैज्ञानिक प्रणाली आवश्यक रहेको उनले बताए।
संविधान, फोहोरमैला व्यवस्थापन ऐन–२०६८ र स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन निर्देशिकाले स्पष्ट मापदण्ड तोके पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको सरोकारवालाको गुनासो छ। स्थानीयवासीले नियमित अनुगमन, कानुनी व्यवस्था कडाइका साथ लागू गर्न तथा अस्पतालजन्य फोहोरको वैज्ञानिक व्यवस्थापन तत्काल सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।



