

धनगढी – कैलालीको टीकापुर अस्पतालमा फिजियोथेरापिस्ट अनिलकुमार तिवारीद्वारा प्रयोगशाला इन्चार्ज उमेशप्रसाद बजगाईँमाथि भएको कुटपिट घटनाको छानबिन प्रतिवेदन अस्पताल व्यवस्थापन समितिलाई बुझाइएको छ।
अस्पताल व्यवस्थापन समितिका सदस्य सुरेश रिमालको संयोजकत्वमा गठित उपसमितिले घटनाको अध्ययनपछि प्रतिवेदन बुझाउँदै आरोपित फिजियोथेरापिस्ट तिवारी प्रहरी हिरासतमा रहेकाले उनको बयान लिन नसकिएको उल्लेख गरेको छ।
उपसमितिका अनुसार प्रयोगशाला इन्चार्ज बजगाईँले प्रशासनमार्फत दिएको लिखित बयानमा प्रशासन शाखामा भएको विवादका क्रममा तिवारीले आफूमाथि अचानक हातपात गरेको बताएका छन्। तर, उक्त दाबीबारे गरिएको प्रारम्भिक बुझाइमा प्रशासन शाखामा त्यस्तो विवाद भएको पुष्टि हुन नसकेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनले दुवै कर्मचारीबीच लामो समयदेखि रहेको व्यक्तिगत मनमुटावका कारण घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको छ। घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको र नेपाल प्रहरीको अनुसन्धान प्रतिवेदन तथा दुवै पक्षको बयानपछि थप स्पष्ट हुने उपसमितिले जनाएको छ।
उपसमितिले अस्पतालका कर्मचारीलाई अनुशासित, मर्यादित र सेवामुखी भएर काम गर्न, सेवाग्राहीका गुनासा र सुझावलाई गम्भीरतापूर्वक लिन तथा संस्थाको प्रतिष्ठामा असर पर्ने गतिविधिबाट टाढा रहन सुझाव दिएको छ। अस्पतालले घटनाका कारण नियमित स्वास्थ्य सेवा प्रभावित नभएको स्पष्ट गर्दै सेवाग्राहीलाई निर्धक्क भएर सेवा लिन आग्रह गरेको छ।
यता, कुटपिट आरोपमा प्रहरी हिरासतमा रहेका करार सेवाका फिजियोथेरापिस्ट अनिलकुमार तिवारीको करार अवधि असार ३२ गते समाप्त हुने भएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रेमकुमार राई भने हाल बिदामा रहेका छन्।



