

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक तथा प्रतिनिधिसभा सदस्य खुश्बु ओलीले इन्टर्न चिकित्सकहरूले भोग्दै आएको न्यून पारिश्रमिक, श्रम शोषण र सेवा–सुविधाको समस्याप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्। उनले सरकारी र निजी मेडिकल कलेजबीच रहेको पारिश्रमिक असमानता अन्त्य गर्दै कार्यदलले सिफारिस गरेको भत्ता व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गरेकी छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ओलीले सरकारी मेडिकल कलेजको तुलनामा निजी मेडिकल कलेजमा कार्यरत इन्टर्न चिकित्सकहरूले अत्यन्त न्यून पारिश्रमिक र भत्तामा काम गर्न बाध्य भएको बताइन्।
उनले नीतिगत कमजोरी र विद्यमान व्यवस्थाका कारण इन्टर्न चिकित्सकहरूको श्रम निरन्तर शोषण भइरहेको जिकिर गर्दै यस्तो अवस्था कायम रहे दक्ष चिकित्सकीय जनशक्ति विदेश पलायन हुने जोखिम अझ बढ्ने चेतावनी दिइन्।
सांसद ओलीले इन्टर्न चिकित्सकहरूलाई आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउन गठित कार्यदलले सिफारिससहित प्रतिवेदन तयार गरिसकेको भए पनि हालसम्म त्यसको कार्यान्वयन हुन नसकेको विषय संसद्मा उठाउँदै सरकारले तत्काल आवश्यक निर्णय लिनुपर्ने माग गरिन्।


