

काठमाडौं- रोटरी इन्टरनेशनल जिल्ला ३२९२ (नेपाल–भुटान) ले बालबालिकाको मुख स्वास्थ्य सुधारका लागि ‘५० हजार मुस्कान नेपाल’ अभियान सञ्चालन गर्ने भएको छ। रोटरीको रोग रोकथाम तथा उपचार समितिले कान्तिपुर दन्त महाविद्यालय शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्र र बीएम फाउन्डेसनसँगको सहकार्यमा उक्त अभियान सञ्चालन गर्न लागेको हो।
अभियान आगामी २०८३ असार १७ गते (१ जुलाई २०२६) देखि २०८४ असार १६ गते (३० जुन २०२७) सम्म सञ्चालन हुनेछ। यस अवधिमा देशभरका २५० भन्दा बढी विद्यालयमा पुगेर ५० हजार बालबालिकाको मुख तथा दाँतको स्वास्थ्य परीक्षण, मुख स्वास्थ्यसम्बन्धी शिक्षा तथा आवश्यक परामर्श प्रदान गरिनेछ।
‘विद्यालयको मुख स्वास्थ्यमार्फत दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना’ भन्ने नारासहित सञ्चालन हुने अभियानले ग्रामीण तथा शहरी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई गुणस्तरीय मुख स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ।
बुधबार आयोजित कार्यक्रममा रोटरी इन्टरनेशनल जिल्ला ३२९२ का जिल्ला प्रमुख रोटरियन विष्णुबहादुर कार्की, कान्तिपुर दन्त महाविद्यालय शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रका प्रमुख प्राध्यापक डा. रविन्द्रमान श्रेष्ठ, बीएम फाउन्डेसनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठ तथा रोटरीको रोग रोकथाम तथा उपचार समितिका संयोजक दिनेशकुमार श्रेष्ठबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
बीएम फाउन्डेसनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठका अनुसार अभियानअन्तर्गत विद्यालयमै पुगेर बालबालिकाको मुख तथा दाँतको स्वास्थ्य परीक्षण गरिनेछ। साथै सही तरिकाले दाँत माझ्ने अभ्यास सिकाइने, मुखसम्बन्धी रोगको रोकथामका उपायबारे जानकारी दिइने, जटिल समस्या देखिएका बालबालिकालाई थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाइने तथा समुदायस्तरमा मुख स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिनेछ।
उनका अनुसार अभियानमा एक हजारभन्दा बढी शिक्षक, २५० भन्दा बढी विद्यालय तथा ५०० भन्दा बढी स्वयंसेवक सहभागी हुनेछन्। विद्यालय तहबाटै मुख स्वास्थ्यसम्बन्धी सही बानीको विकास गर्दै दीर्घकालीन रूपमा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने अपेक्षा गरिएको उनले बताए।
अभियानलाई थप प्रभावकारी बनाउन विद्यालय प्रायोजन, एक हजार बालबालिकाको प्रायोजन, जिल्ला तहको साझेदारी तथा अन्तर्राष्ट्रिय रोटरी साझेदारीमार्फत सहयोग जुटाइने जनाइएको छ। इच्छुक व्यक्ति, संस्था तथा दातृ निकायले आर्थिक वा अन्य प्रकारको सहयोगमार्फत अभियानमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।
अभियानका परियोजना संयोजक रोटेरियन डा. श्रेष्ठका अनुसार विद्यालयमै मुख स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै दाँत तथा मुखसम्बन्धी रोगको प्रारम्भिक पहिचान, समयमै रोकथाम र उपचार सुनिश्चित गर्नु अभियानको मुख्य उद्देश्य हो। यसबाट बालबालिकाको स्वास्थ्यमा मात्र नभई उनीहरूको अध्ययन, आत्मविश्वास र समग्र जीवनस्तरमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।
बीएम फाउन्डेसनले अभियानलाई सफल बनाउन सरकारी निकाय, स्वास्थ्य संस्था, विद्यालय, दातृ संस्था तथा समुदायलाई सहकार्यका लागि आह्वान गरेको छ।
यसअघि पनि रोटरीले यस्तै अभियान सञ्चालन गरेको थियो। डा. श्रेष्ठका अनुसार सन् २०२४–२५ मा तत्कालीन जिल्ला प्रमुख राजेन्द्र ध्वजुको कार्यकालमा कान्तिपुर दन्त महाविद्यालय र बीएम फाउन्डेसनसँगको सहकार्यमा सञ्चालन गरिएको अभियानमा २४ निजीसहित ९० विद्यालय समेटिएका थिए। त्यस क्रममा २७ हजार ५४८ बालबालिकाको मुख स्वास्थ्य परीक्षण गर्दा ७३ प्रतिशतमा दाँत क्षय (दाँत किराले खाने) समस्या भेटिएको थियो।
सोही तथ्यलाई आधार मानेर यसपटक अझ व्यापक रूपमा ‘५० हजार मुस्कान नेपाल’ अभियान सञ्चालन गर्न लागिएको र बालबालिकामा मुख स्वास्थ्यप्रतिको चेतना अभिवृद्धिसँगै स्वस्थ मुस्कान सुनिश्चित गर्ने लक्ष्य राखिएको रोटरीले जनाएको छ।


