

काठमाडौँ – स्वास्थ्य बीमा बीमा बोर्डले आवश्यकता भन्दा बढी परीक्षणको माग नगर्न बिमितहरूलाई आग्रह गरेको छ। बोर्डले सूचना जारी गरी स्वास्थ्य बीमामा आबद्ध भएका बिमितहरूलाई अस्पतालहरूमा अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न, तथा चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन बोर्डले ध्यानाकर्षण गराएको छ। स्वास्थ्य बीमा कार्यक्रमको दिगोपन र प्रभावकारिता कायम राख्न नागरिकको तर्फबाट पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरिदिन बोर्डले अनुरोध गरेको हो।
बीमाले जारी गरेको सूचनामा भनिएको छ, ‘सम्पूर्ण बिमित सेवाग्राहीहरूलाई स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आवश्यकभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन तथा स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गर्न अनुरोध छ।’
स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षको विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १६ रुपैयाँ दाबी भुक्तानी गरेको छ। बोर्डले आज शुक्रबारप्रेस विज्ञप्ति जारी गर्दै उक्त भुक्तानीसँगै मिति २०८२ साल मंसिर मसान्तसम्मको सम्पूर्ण आबद्ध सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी बक्यौता पूर्ण रूपमा फरफारक भएको जनाएको छ।
बोर्डका अनुसार सीमित स्रोतसाधन र संरचनागत चुनौतीका बाबजुद पनि दैनिक हजारौँ बीमित नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ। नागरिकले उपचारका क्रममा आफ्नै गोजीबाट गर्नुपर्ने खर्च (आउट अफ पकेट एक्सपेन्डिचर) न्यूनीकरण गरी वित्तीय जोखिमबाट बचाउन यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलिरहेको बोर्डको भनाइ छ।
दिगो वित्तीय स्रोत र संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा अस्पताल तथा स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानी समयमै हुन नसकेको र यसले सेवा प्रदायक तथा बीमित दुवै पक्षमा असहज परिस्थिति सिर्जना भएको विषयमा बोर्ड सजग रहेको जनाएको छ। मिति २०८२ मंसिरपछिको दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र पहल भइरहेको बोर्डले स्पष्ट पारेको छ।


