

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कार्यसम्पादनलाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने उद्देश्यसहित संगठनात्मक पुनर्संरचनाको तयारी थालेको छ। प्रशासनिक संरचनालाई समयानुकूल बनाउँदै निर्णय प्रक्रिया छिटो र सेवा प्रवाह प्रभावकारी बनाउने लक्ष्यका साथ मन्त्रालयले पुनर्संरचनाको गृहकार्य अघि बढाएको हो।
मन्त्रालयको प्रारम्भिक योजनाअनुसार हाल रहेका पाँच वटा महाशाखालाई पुनर्गठन गरी कार्यप्रकृतिका आधारमा तीन वटामा सीमित गर्ने तयारी गरिएको छ। साथै समान प्रकृतिका काम गर्ने विभागहरूलाई एकीकृत गरी दोहोरो कार्यभार हटाउने रणनीति बनाइएको छ।
स्वास्थ्य क्षेत्रलाई डिजिटल प्रविधिसँग जोड्ने उद्देश्यले मन्त्रालयले छुट्टै सूचना प्रविधि (आईटी) विभाग स्थापना गर्ने तयारी पनि गरेको छ। प्रस्तावित विभागले देशभरको स्वास्थ्य सूचना प्रणाली, तथ्याङ्क व्यवस्थापन तथा डिजिटल स्वास्थ्य सेवा विस्तारमा प्रमुख भूमिका खेल्ने अपेक्षा गरिएको छ।
मन्त्रालयले लामो समयदेखि केन्द्रमा केन्द्रित भई कार्यसम्पादनमा दोहोरोपन देखिएका करिब ३० प्रतिशत दरबन्दीलाई पुनः व्यवस्थापन गर्ने तयारी गरेको छ। ती दरबन्दीलाई मन्त्रालयबाट हटाई मातहतका निकाय तथा तल्लो तहका संरचनामा समायोजन गर्ने योजना बनाइएको छ।
मन्त्रालयका अनुसार पुनर्संरचनापछि प्रशासनिक सञ्चालन खर्चमा उल्लेख्य कमी आउने, जनशक्तिको प्रभावकारी परिचालन हुने तथा प्रदेश र स्थानीय तहसम्म स्वास्थ्य सेवा प्रवाह अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
मन्त्रालयले पुनर्संरचनाको प्रस्तावलाई अन्तिम रूप दिन आवश्यक अध्ययन, परामर्श तथा कानुनी प्रक्रिया पनि अघि बढाइरहेको जनाएको छ।


