

अछाम – अछामस्थित बयालपाटा प्रादेशिक अस्पतालले पहिलो पटक भ्याजाइनल हिस्टेरेक्टोमी तथा पेल्भिक फ्लोर रिपेयर शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्दै स्त्रीरोग उपचारमा नयाँ उपलब्धि हासिल गरेको छ।
अस्पतालका अनुसार मंगलसेन नगरपालिका–१४ निवासी ६० वर्षीया एक महिलाको उक्त जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो। शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
अस्पतालका लागि यो स्त्री तथा प्रसूति सेवातर्फको महत्वपूर्ण उपलब्धि मानिएको छ। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जयनाथ चौधरीको नेतृत्वमा एनेस्थेसिया विशेषज्ञ महेन्द्र कुँवरसहितको चिकित्सक टोलीले शल्यक्रिया सम्पन्न गरेको हो।
डा. चौधरीका अनुसार लामो समयसम्म पाठेघर (गर्भाशय) तल झरेर योनीबाहिर निस्किने समस्या भएका महिलाका लागि यस्तो शल्यक्रिया आवश्यक पर्ने गर्दछ। यस्तो समस्याका कारण हिँडडुल, बस्न–उठ्न, पिसाब रोक्न वा फेर्न कठिनाइ हुनुका साथै पटक–पटक संक्रमण हुने, घाउ बन्ने र जीवनस्तरमा गम्भीर असर पर्ने हुन्छ।
उनका अनुसार भ्याजाइनल हिस्टेरेक्टोमी तथा पेल्भिक फ्लोर रिपेयर प्राविधिक रूपमा जटिल शल्यक्रिया भएकाले अनुभवी चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मीको टोली आवश्यक पर्ने गर्दछ।
यसैबीच, मंगलबार नै बयालपाटा प्रादेशिक अस्पतालमा हाडजोर्नीसम्बन्धी थप ६ वटा सफल शल्यक्रिया पनि सम्पन्न भएका छन्। अस्पतालका अनुसार ५ वर्षका दुई बालक, ६ वर्षीया एक बालिका र ७ वर्षका एक बालकको कोहिनोको सफल शल्यक्रिया गरिएको छ।
त्यसैगरी, १५ वर्षीय एक किशोरको देब्रे हात र ५० वर्षीय एक पुरुषको देब्रे घुँडाको जटिल शल्यक्रिया पनि सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ।
अस्पतालले विशेषज्ञ सेवाको विस्तारसँगै जटिल शल्यक्रियाहरू स्थानीय स्तरमै उपलब्ध हुन थालेकाले सुदूरपश्चिमका बिरामीलाई ठूलो राहत मिल्ने विश्वास व्यक्त गरेको छ।


