

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न परिषद्, अनुसन्धान निकाय तथा स्वास्थ्य बीमा बोर्डका रिक्त पदमा पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।
मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद्, नेपाल मेडिकल काउन्सिल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा स्वास्थ्य बीमा बोर्डका विभिन्न पदमा नियुक्ति प्रक्रिया अघि बढाएको जनाएको छ।
सूचनाअनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद् र नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष तथा रजिष्ट्रार पदका लागि आवेदन माग गरिएको छ। नेपाल नर्सिङ परिषद्मा अध्यक्ष, उपाध्यक्ष र रजिष्ट्रार नियुक्त गरिनेछ भने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा तीन सदस्य र एक सदस्य–सचिव चयन गरिने मन्त्रालयले जनाएको छ।
यस्तै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका लागि एक कार्यकारी निर्देशक तथा स्वास्थ्य बीमा बोर्डका लागि अध्यक्ष र एक कार्यकारी निर्देशक नियुक्त गर्ने तयारी गरिएको छ।
मन्त्रालयका अनुसार सम्बन्धित ऐन तथा नियमावलीले तोकेको योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिन सक्नेछन्।
आवेदन मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखामा वा मन्त्रालयको वेबसाइटमार्फत पेश गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।


