

डडेल्धुरा- गन्यापधुरा गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले आफ्नै पालिकामा चिकित्सकीय सेवा पाउन थालेका छन्। एमबीबीएस चिकित्सकसहित सेवा सुरु भएको उक्त अस्पताल डडेल्धुरा जिल्लामा स्थानीय तहबाट सञ्चालनमा आएको पहिलो आधारभूत अस्पताल बनेको छ।
संघीय सरकारले २०७७ सालमा देशभरका स्थानीय तहमा ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने नीति ल्याएपछि गन्यापधुरामा पनि अस्पताल निर्माण प्रक्रिया अघि बढाइएको थियो। निर्माण सम्पन्न भएसँगै अस्पतालले गत वैशाख १६ गतेदेखि औपचारिक रूपमा सेवा दिन थालेको हो।
यसअघि सामान्य स्वास्थ्य चौकीको सीमित सेवामा निर्भर स्थानीयले अब क्रमशः विशेषज्ञ तथा गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै गाउँपालिकाबाट पाउने अपेक्षा गरेका छन्। अस्पताल सञ्चालनमा आएपछि सामान्य जाँच तथा उपचारका लागि सदरमुकाम डडेल्धुरा वा धनगढी पुग्नुपर्ने बाध्यता समेत कम हुने विश्वास गरिएको छ।
अस्पताल निर्माणका लागि २०७९ पुस ७ गते निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो। तीन वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि बजेट अभावका कारण निर्माण कार्य समयमै पूरा हुन सकेन। त्यसपछि निर्माण अवधि २०८२ माघ २९ गतेसम्मका लागि थप गरिएको थियो।
गाउँपालिकाका सव–इन्जिनियर केशव साहुका अनुसार अस्पताल निर्माणमा कुल १५ करोड ५७ लाख ५३ हजार रुपैयाँ लागत अनुमान गरिएको छ। हालसम्म १३ करोड ३६ लाख ३३ हजार रुपैयाँ भुक्तानी भइसकेको छ भने करिब १ करोड १९ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ। अस्पताल निर्माणको जिम्मा रुद्रवती–कालिका एसके जेभीले पाएको थियो।
अस्पताल सञ्चालनसँगै स्थानीयमा उत्साह बढेको छ। स्थानीय चक्रबहादुर कार्कीले अस्पताल स्थापना हुनु सकारात्मक भए पनि सेवा प्रभावकारी बनाउन पर्याप्त चिकित्सक, औषधि तथा उपकरणको व्यवस्था आवश्यक रहेको बताए।
‘हाल स्वास्थ्य चौकीबाट उपलब्ध हुने प्रकृतिका सेवा मात्रै सञ्चालन भइरहेका छन्। क्रमशः सबै प्रकारका स्वास्थ्य सेवा विस्तार भए स्थानीयलाई ठूलो राहत हुनेछ,’ उनले भने।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलीप तामाङका अनुसार अस्पतालमा दुई जना मेडिकल अधिकृतसहित २२ जनाको दरबन्दी स्वीकृत गरिएको छ। हाल एक जना मेडिकल अधिकृत, चार जना स्टाफ नर्स, दुई जना अहेब लगायत १३ जना कर्मचारीले सेवा प्रदान गरिरहेका छन्। आवश्यकता अनुसार थप जनशक्ति व्यवस्थापन गरिने उनले बताए।
उनका अनुसार अस्पतालमा बहिरंग, अन्तरंग, आकस्मिक, प्रयोगशाला तथा फार्मेसी सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ। प्रारम्भिक चरणमा केही सेवा सीमित भए पनि आवश्यक उपकरण र जनशक्ति थपिएसँगै सेवा विस्तार गरिने योजना रहेको छ।
जनस्वास्थ्य अधिकृत तथा प्रशासन शाखा प्रमुख प्रेमप्रसाद भण्डारीले गणेशपुर स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर आधारभूत अस्पतालका रूपमा सञ्चालनमा ल्याइएको जानकारी दिए। अस्पताल सञ्चालन भएको करिब एक महिना मात्रै भएकाले सेवाहरू क्रमशः विस्तार भइरहेको उनको भनाइ छ।
उनका अनुसार अस्पताल सञ्चालनका लागि संघीय सरकारबाट केही सहयोग प्राप्त भएको छ भने गाउँपालिकाले रेडियोग्राफरसहित आवश्यक प्राविधिक जनशक्ति व्यवस्थापनको तयारी गरिरहेको छ।
‘एमबीबीएस डाक्टर आएपछि बिरामीको संख्या पनि बढ्न थालेको छ,’ भण्डारीले भने, ‘भविष्यमा ल्याब, फार्मेसी, एक्स–रे, अल्ट्रासाउन्ड लगायतका सेवा थप गरी अस्पताललाई नमुना स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने योजना छ।’
अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. नमुना पुनका अनुसार हाल दैनिक १५ देखि २० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन्। अस्पतालमा उपचार सम्भव भएका बिरामीलाई यहीँ सेवा दिइने र जटिल अवस्थाका बिरामीलाई एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल वा धनगढी रेफर गरिने गरिएको छ।
हाल अस्पतालमा मौसमी ज्वरो, झाडापखाला तथा सामान्य स्वास्थ्य समस्याका बिरामी बढी आउने गरेका छन्। ल्याब, प्रसूति तथा सामान्य स्वास्थ्य परीक्षण सेवा नियमित रूपमा सञ्चालन भइरहे पनि एक्स–रे, अल्ट्रासाउन्ड र ईसीजी सेवा भने अझै उपलब्ध हुन सकेको छैन।
सरकारले सुरु गरेको आधारभूत अस्पताल निर्माण कार्यक्रमअन्तर्गत डडेल्धुराका नवदुर्गा, आलिताल, अजयमेरु र भागेश्वर गाउँपालिकामा पनि १० शय्याका अस्पताल निर्माण सुरु गरिएको थियो। तर ती पालिकामा भने निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन। बजेट अभाव, निर्माण कम्पनीको ढिलासुस्ती तथा विभिन्न प्राविधिक समस्याका कारण काम प्रभावित हुँदै आएको सम्बन्धित निकायहरूले जनाएका छन्।
गन्यापधुरामा अस्पताल सञ्चालनमा आएसँगै दुर्गम क्षेत्रका नागरिकलाई स्थानीय स्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने सरकारी अभियानले मूर्त रूप लिन थालेको छ। अब सेवा विस्तार र गुणस्तर अभिवृद्धि गर्न सके यसले ग्रामीण स्वास्थ्य सेवामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।


