

हुम्ला- हुम्लाको ताँजाकोट गाउँपालिका–३ स्थित मासपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रसूति सेवा सञ्चालनमा नआउँदा स्थानीय महिला अझै पनि जोखिमपूर्ण अवस्थामा घरमै सुत्केरी हुन बाध्य भएका छन्। बर्थिङ सेन्टर स्थापना भएको झन्डै आठ वर्ष बितिसक्दा पनि सरकारी स्वीकृतिको अभावमा सेवा सुरु हुन नसकेको गुनासो स्थानीयको छ।
जिल्लाकै दुर्गम बस्तीमध्ये एक मानिने मासपुरमा रहेको स्वास्थ्य संस्थामा कार्यालय सहयोगीसहित तीन जनाको दरबन्दी भए पनि अधिकांश समय एक जना स्वास्थ्यकर्मीले मात्रै सेवा दिँदै आएको स्थानीय बताउँछन्। सीमित जनशक्ति र न्यून स्वास्थ्य सुविधाका कारण मातृ तथा शिशु स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको उनीहरूको भनाइ छ।
२६ घरधुरी रहेको मासपुर गाउँका बासिन्दासँगै कुवाडीखोलापारि पर्ने बाजुराको बौडी गाउँका नागरिकसमेत उपचारका लागि यही स्वास्थ्य केन्द्रमा निर्भर छन्। तर स्वास्थ्य संस्थामा पर्याप्त स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीले अपेक्षित सेवा पाउन नसकेको स्थानीयको गुनासो छ।
सिप नेपाल र ट्रस नेपालको साझेदारीमा २०७४ सालमै स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर स्थापना गरिएको थियो। प्रसूति सेवाका लागि आवश्यक बेड, औषधि तथा उपकरण उपलब्ध गराइनुका साथै अनमी करुणा कुँवरलाई समेत खटाइएको थियो। तर हालसम्म सरकारी स्वीकृति प्राप्त नभएका कारण प्रसूति सेवा सञ्चालन हुन सकेको छैन।
स्थानीय धनरूपा भण्डारीका अनुसार स्वास्थ्य संस्थामा सरसफाइका लागि स्विपरको समेत व्यवस्था छैन। बर्थिङ सेन्टर सञ्चालनमा नआउँदा गर्भवती महिलालाई घरमै सुत्केरी गराउनुपर्ने बाध्यता रहेको उनले बताइन्। ‘आमा र नवजात शिशुको ज्यान जोखिममा पर्ने अवस्था भए पनि विकल्प छैन,’ उनले भनिन्।
स्वास्थ्य सेवा केन्द्रका प्रमुख पदम बुढाले गर्भवती महिलाले कम्तीमा आठ पटक गर्भ जाँच गराउनुपर्ने व्यवस्था भए पनि मासपुरमा आधारभूत सेवाबाहेक अन्य सुविधा उपलब्ध नभएको बताए। उनका अनुसार स्वास्थ्य केन्द्रमा रक्तचाप परीक्षण, आइरन चक्की वितरण तथा नियमित खोप सेवा मात्रै सञ्चालन भइरहेको छ।
‘गर्भवती महिलालाई आवश्यक खोप लगाउने र आइरन चक्की उपलब्ध गराउने काम भइरहेको छ,’ बुढाले भने, ‘तर प्रसूति सेवा सञ्चालन नहुँदा चालु आर्थिक वर्षमै गाउँका छ जना महिला घरमै सुत्केरी भएका छन्।’
उनले दुर्गम भौगोलिक अवस्था, यातायातको अभाव र स्वास्थ्य संस्थामा सीमित सेवाका कारण गर्भवती महिलाले जोखिम मोल्नुपरेको बताउँदै बर्थिङ सेन्टर यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीले ताँजाकोट गाउँपालिकामा घरमै सुत्केरी हुने दर जिल्लाकै उच्च रहेको स्वीकार गरे। उनले मासपुरजस्ता दुर्गम बस्तीमा स्वास्थ्य संस्थासम्म पहुँच कठिन भएकाले संस्थागत सुत्केरी बढाउन चुनौती रहेको बताए।
यस्तै, मासपुर गाउँकी महिला स्वास्थ्य स्वयंसेविका धनरूपा भण्डारीले गाउँपालिकाको स्वास्थ्य शाखासम्म पुग्न पैदल एक दिन लाग्ने भएकाले नियमित बैठकमा सहभागी हुन तथा स्थानीय समस्या सम्बन्धित निकायसम्म पुर्याउन समेत कठिनाइ हुने गरेको बताइन्।
स्थानीयवासीले वर्षौँअघि स्थापना गरिएको बर्थिङ सेन्टर तत्काल सञ्चालनमा ल्याई गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य सुरक्षालाई सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।


