

काठमाडौं- स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सेवाप्रदायक २०२ अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ।
बोर्डका अनुसार विगत आर्थिक वर्षदेखि बाँकी रहेका स्वास्थ्य बिमा दाबी तथा विपन्न नागरिकको औषधि उपचारसम्बन्धी रकम भुक्तानीलाई सरकारले उच्च प्राथमिकतामा राख्दै आएको छ। यसबाट स्वास्थ्य बिमा कार्यक्रमप्रति नागरिकको विश्वास बढाउनुका साथै कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्य लिइएको जनाइएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार गत जेठ १३ गते स्वास्थ्य बिमा दाबीबापत एक अर्ब ३ करोड २४ लाख ७७ हजार रुपैयाँ भुक्तानी गरिएको थियो।
त्यसैगरी, जेठ २१ गते विपन्न नागरिकको औषधि उपचार खर्चबापत ३२ करोड १३ लाख ६ हजार रुपैयाँ निकासा गरिएको मन्त्रालयले जनाएको छ।
यस्तै, जेठ २७ गते थप २७ करोड ३७ लाख ७८ हजार रुपैयाँ भुक्तानी गरिएको थियो। अब थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ निकासा प्रक्रिया अघि बढेसँगै स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतका अस्पतालहरूको बक्यौता दाबी भुक्तानीमा केही राहत पुग्ने अपेक्षा गरिएको छ।
सरकारले स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारिता कायम राख्न तथा सेवाप्रदायक संस्थाहरूको वित्तीय दबाब कम गर्न चरणबद्ध रूपमा बक्यौता रकम भुक्तानी गर्दै आएको जनाएको छ।


