

काठमाडौं- स्वयंभूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल सञ्चालन गर्दै आएको नेपाल स्वास्थ्य सहकारी संस्था लिमिटेड (नेको) को अध्यक्षमा राजेन्द्र पाण्डे भारी मतान्तरसहित विजयी भएका छन्। आइतबार सम्पन्न संस्थाको २०औँ वार्षिक साधारणसभाबाट पाण्डे अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
निर्वाचन परिणामअनुसार पाण्डेले ३५६ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी इञ्जिनियर गम्भीरलाल श्रेष्ठले २४८ मत प्राप्त गरे भने तेस्रो स्थानमा रहेका शिवप्रसाद सिम्खडाले १०२ मत पाए।
त्यसैगरी उपाध्यक्ष पदमा डा. झलक शर्मा गौतम २९१ मत र हरिप्रसाद उप्रेती ३०१ मतसहित विजयी भए। सचिव पदमा टेकबहादुर बम २९३ मतका साथ निर्वाचित भएका छन्।
सहसचिवमा राजु ढकालले २७६ मत प्राप्त गर्दै विजय हासिल गरे भने कोषाध्यक्ष पदमा चुनावेदी केसी खड्का २४३ मतसहित निर्वाचित भएकी छन्।
सदस्य पदतर्फ ईश्वरी खनालले २७१, लक्ष्मी राईले २८३, शोभा सापकोटाले ३११, डा. रविन्द्र रेग्मीले ३१६ र बोधकुमार अधिकारीले २८३ मत प्राप्त गर्दै विजयी भएका छन्।


