

विराटनगर – विराट मेडिकल कलेज टिचिङ हस्पिटलको जठरान्त्र शल्यचिकित्सा विभागको आयोजनामा दीर्घकालीन अग्न्याशयशोथ (क्रोनिक प्यान्क्रियाटाइटिस) सम्बन्धी विशेष निरन्तर चिकित्सकीय शिक्षा (सीएमई) कार्यक्रम भएको छ।
शनिबार सञ्चालन भएकाे ‘दीर्घकालीन अग्न्याशयशोथसम्बन्धी नवीन जानकारी’ विषयक यस पूर्णदिवसीय कार्यक्रममा अग्न्याशयको दीर्घकालीन रोगको पहिचान, उपचार तथा व्यवस्थापनका आधुनिक विधिबारे विशेषज्ञ चिकित्सकहरूले प्रस्तुति दिएका थिए।

कार्यक्रममा दीर्घकालीन अग्न्याशयशोथको उन्नतस्तरको तस्बिर परीक्षण, इन्डोस्कोपीमार्फत गरिने उपचार, शल्यचिकित्साका रणनीति तथा फ्रे प्रक्रिया, रोग पुनः दोहोरिने अवस्थाको व्यवस्थापन र नियमित अनुगमन, बालबालिकामा देखिने अग्न्याशयसम्बन्धी समस्या, सानो चिराबाट गरिने शल्यचिकित्सा विधि तथा यस क्षेत्रमा भएका महत्त्वपूर्ण अनुसन्धान र प्रमाणमा आधारित उपचार पद्धतिबारे विस्तृत छलफल भइरहेको थियाे।
अस्पतालका अनुसार कार्यक्रममा विभिन्न विधाका विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी तथा चिकित्साशास्त्रका विद्यार्थीहरूको सहभागिता रहेको छ। कार्यक्रमले दीर्घकालीन अग्न्याशयशोथको प्रमाणमा आधारित उपचार व्यवस्थापनबारे चिकित्सकहरूको ज्ञान र सीप अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
यस्तै, पछिल्ला अनुसन्धान, आधुनिक उपचार प्रणाली तथा बिरामीको प्रभावकारी व्यवस्थापनसम्बन्धी अनुभव आदान–प्रदानका माध्यमबाट स्वास्थ्य सेवाको गुणस्तर थप सुदृढ बनाउन कार्यक्रम उपयोगी हुने आयोजकको अपेक्षा छ।


