

काठमाडौँ- सगरमाथाको माथिल्लो क्षेत्रमा गत जेठ १७ गतेदेखि बेपत्ता भएका अनुभवी हिमाल आरोहण गाइड हिलारी दावा शेर्पाको जीवितै उद्धार गरिएको छ। ६ दिनसम्म बेपत्ता भई मृत ठानिएका शेर्पा चमत्कारी रूपमा सगरमाथाको आधार शिविरसम्म घिस्रिएर आइपुगेपछि बिहीबार बिहान हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो।
काठमाडौँ ल्याएलगत्तै उनलाई थप र विशिष्टीकृत उपचारका लागि मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ। अस्पताल आइपुग्ने बित्तिकै उनलाई आकस्मिक कक्षमा राखी विशेषज्ञ चिकित्सकहरूको टोलीले प्रारम्भिक जाँच र उपचार सुरु गरिसकेको छ।
अस्पताल स्रोतका अनुसार, लामो समय हिउँमा भोकै र अत्यधिक चिसोमा बिताएका कारण उनको स्वास्थ्यमा केही जटिलता देखिए पनि हाल अवस्था स्थिर रहेको र मल्टिडिसिप्लिनरी मेडिकल टोलीको विशेष निगरानीमा उपचार भइरहेको छ।
सगरमाथाको डेथ जोन नजिकैबाट ६ दिनपछि जीवितै फर्किएका शेर्पाको यो बचावटलाई पर्वतारोहण क्षेत्रमा एउटा ठुलो चमत्कारको रूपमा हेरिएको छ।


