

काठमाडौँ – स्वास्थ्य बिमा बोर्डले सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक उपचारअन्तर्गत सेवा प्रदान गरी भुक्तानी दाबी गरे त्यस्ता दाबी स्वीकार नगर्ने जनाएको छ।
बोर्डले सोमबार निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई पत्राचार गर्दै आकस्मिक सेवा सम्बन्धी प्रचलित व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो।
बोर्डद्वारा जारी सूचनामा सामान्य बिरामीलाई पनि आकस्मिक बिरामीका रूपमा उपचार गरी भुक्तानी दाबी पेस गर्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै त्यस्ता दाबीको भुक्तानी नगरिने स्पष्ट पारिएको छ।
‘त्यस्ता दाबीहरूको भुक्तानी नगरिने तथा प्रचलित कानुन बमोजिम आवश्यक कारबाहीसमेत हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ बोर्डले जारी गरेको सूचनामा उल्लेख छ।
बोर्डले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सेवा लिने आम सेवाग्राहीलाई पनि तोकिएको व्यवस्था पालना गर्न आग्रह गरेको छ। साथै, सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब सिर्जना नगरी निर्धारित मापदण्डअनुसार सेवा लिन अनुरोध गरेको छ।
यद्यपि, वास्तविक रूपमा आकस्मिक उपचार आवश्यक पर्ने अवस्थाका बिरामीहरूको उपचारमा भने कुनै समस्या नहुने बोर्डले स्पष्ट पारेको छ। आकस्मिक प्रकृतिको बिरामी देखिएमा उपचार प्रक्रियाअनुसार सेवा प्रदान गरी त्यसको भुक्तानी स्वास्थ्य बिमा कार्यक्रमबाट उपलब्ध गराइने जनाएको छ।
बोर्डका अनुसार उपचारका क्रममा बिरामीलाई भर्ना गर्नुपर्ने वा शल्यक्रिया आवश्यक परेमा स्थापित उपचार पद्धतिअनुसार उपचार गरी डिस्चार्ज गर्न सकिने व्यवस्था यथावत रहनेछ।
स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा अनियमितता नियन्त्रण गर्ने उद्देश्यले बोर्डले यस्तो निर्देशन जारी गरेको जनाएको छ।



