

सर्लाही- सर्लाहीमा सर्पदंशबाट एक बालकको मृत्यु भएको छ। बालकको मृत्यु भएपछि आफन्तहरूले चिकित्सकको लापरबाही भएको आरोप लगाउँदै अस्पतालमा विरोध जनाएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कौडेना गाउँपालिका–१ लक्ष्मीपुर निवासी रवीन्द्र गिरीका तीन वर्षीय छोरा आदित्य गिरीलाई बुधबार साँझ घरको कौसीमा खेलिरहेका बेला सर्पले टोकेको थियो।
सर्पले टोकेपछि घाइते भएका बालकलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर उपचारकै क्रममा साँझ करिब ७ः५० बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए।
बालकको मृत्यु भएपछि आक्रोशित आफन्तजनले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै अस्पताल परिसरमा होहल्ला गरेका थिए।
स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक रुपेश अधिकारीको नेतृत्वमा २५ जना प्रहरी परिचालन गरिएको थियो। प्रहरीको सम्झाइबुझाइपछि अवस्था सामान्य बनेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार राति करिब ९ः५० बजे कानुनी प्रक्रिया पूरा गरी मृतक बालकको शव परिवारलाई बुझाइएको थियो।



