
काठमाडौं, १३ जेठ । हालैमात्र एक कार्यक्रममा सफल मानिएका औषधि उद्योगी हरिभक्त शर्माले पुराना उद्योगी, उद्योग खोल्न चाहाने नयाँ उद्यमी र राज्यका निकायलाई समेत निराश बनाउनेगरि एउटा तिखो र अप्रासंगिक टिप्पणी गरे । वार्षिक अरबौं कमाउँदै आएको देउराली जनता फर्मास्युटिकल्सका मालिक शर्माले उद्योग खोल्नु पूर्वजन्मको पाप भएको भन्दै उद्योग खोलेर ठूलो गल्ती गरेको आशय अभिव्यक्त गरेर सबैलाई छक्क पारेका छन् ।

अर्थमन्त्री डा. स्वर्णीम वाग्लेसमेत सहभागी कार्यक्रममा शर्माले भनेका थिए, ‘पूर्वजन्ममा ठुलै पाप गरेका हुनाले उद्योग खोलेको रहेछ । अहिले त केही गरिया छैन, पूर्वजन्ममा ठुलै बम्हलुट नै गर्ने केही काम गरेको भएरै अहिले नेपालमा हामीले उद्योग चलाइराहोला ।’
सामाजिक सञ्जालमा भाइरल भएको यो भनाइका सम्बन्धमा पाठकहरुले मिश्रित प्रतिक्रियाहरु दिएका छन् । कतिपयले यसलाई उद्योगीको स्वाभाविक पीडाका रुपमा समानुभूति व्यक्त गरेका छन् भने, कतिपयले कमाउनु कमाएपछि नयाँ उद्यमीलाई मिसलिड गर्न र मिसगाइड गर्न गरिएको भ्रामक टिप्पणी पनि भनेका छन् ।
खासमा देउराली जनताले फर्मास्युटिकल्सले चितवनमा करिब ५ अर्ब रुपैयाँ लागतमा नयाँ उत्पादन प्लान्ट स्थापना गर्ने योजना अघि बढाएको छ। उक्त परियोजना मुख्य रूपमा ऋणमार्फत सञ्चालन गर्नुपर्ने बेलामा कम्पनीको कर्जा मुल्यांकन घटेका कारण शर्मालाई छटपटी भएको थियो । उक्त कुण्ठालाई उनले पूर्वजन्मको पाप भनेर भ्रामक तवरबाट टिप्पणी गरेको पाइएको छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष समेत भइसकेका उद्योगीले किन यति निराशाजनक टिप्पणी गरे भन्ने खोतल्दै जाँदा शर्माले कम्पनीको नाफामा गिरावट आएसँगै घटेको क्रेडिट रेटिङको कुण्ठा ओकलेका रहेछन् । सोही भाषणका क्रममा उनले भनेका छन्, ‘बैंकले भन्छ, तपाईंको प्रोफिट घट्यो, तपाईंको क्रडिटिविलिटी घट्छ है प्रोफिट घट्यो भने, तपाईंको त फोफिट नै छैन, प्रोफिटाविलिटी कम भो भन्छ ।’
आइसिआरए नेपाल (इक्रा नेपाल) का अनुसार देउराली जनताको सञ्चालन आम्दानी सन् २०२४ मा २ अर्ब २ करोड रुपैयाँ रहेकोमा २०२५ मा बढेर २ अर्ब ३५ करोड रुपैयाँ पुगेको थियो। अर्थात् कम्पनीले एक वर्षमै करिब १६ प्रतिशत व्यापार वृद्धि गरेको थियो। सन् २०२४ मा १९.९ प्रतिशतमा रहेका नाफा अनुपात सन् २०२५ मा घटेर १८.७ प्रतिशतमा झर्यो भने चालु वर्षको ९ महिनामा थप घटेर १६.२ प्रतिशतमा पुगेको छ। जस अनुसार चालु आर्थिकवर्षको ९ महिनामा देउराली जनताको सञ्चालन आम्दानी १ अर्ब ४५ करोडमा सीमित भएको छ ।
पछिल्ला वर्षमा बढेको औषधि कम्पनीमा बढेको प्रतिस्पर्धा, नयाँ लगानी र अत्याधुनिक प्रविधिसहितका कम्पनीहरु बजारमा आउँदा देउराली जनता फर्मास्युटिकल्स कम्पनीको धङधङ्गीमा गिरावट आएको छ । यसको पीडालाई शर्माले कम्पनी घाटामै गएजसरी टिप्पणी गर्नुले साँच्चै घाटामा रहेका र ‘ब्रेक इभनमा’ समेत पुग्न नसकेका कयौं नेपाली कम्पनीहरुमाथि उपहास गरेको भनेर कतिपयले अर्थ्याएका छन् ।
कम्पनीको नाफा घटेसँगै बैंकले ऋणको मुल्यांकन गर्छ र कर्जा तिर्ने क्षमता पहिलेभन्दा कमजोर देखिएको मान्छ । आइसिआरएले पनि यसकै आधारमा कम्पनीको कर्जा मूल्यांकन घटाएको हो । संस्थाले कम्पनीको दीर्घकालीन र छोटो अवधिको दुवै कर्जा रेटिङ तल झारेको जनाएको हो ।
नेपालमा एउटा उखान छ, ‘लोभले लाभ लाभले विलाप ।’ देउराली जनताको सन्दर्भमा पनि यस्तै देखिएको छ । १-२ प्रतिशतले कम्पनीको सञ्चालन नाफा घट्दैमा ठूलो बिरासत भएको कम्पनीको मालिकले उद्योग खोल्नुलाई पूर्वजन्मको पाप भन्नुलाई पक्कैपनि स्वाभाविक टिप्पणी मान्न सकिँदैन ।
के हो आइसिआरए(ICRA) नेपाल ?
आइसिआरए नेपालकै पहिलो क्रेडिट रेटिङ एजेन्सी हो, जसले बैंक, कम्पनी तथा वित्तीय संस्थाको आर्थिक अवस्था र कर्जा तिर्ने क्षमता मूल्यांकन गर्ने काम गर्छ। सन् २०११ मा स्थापना भएको ICRA Nepal लाई नेपाल धितोपत्र बोर्ड (SEBON) ले २०१२ मा सञ्चालन अनुमति दिएको थियो।
यो भारतको चर्चित क्रेडिट रेटिङ संस्था को सहायक कम्पनी हो। ICRA Limited स्वयं अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी Moody’s Investors Service सँग सम्बन्धित समूहअन्तर्गत पर्छ। नेपालमा ICRA Nepal ले कम्पनीहरूको वित्तीय जोखिम, कर्जा तिर्ने क्षमता र भविष्यको आर्थिक स्थायित्वबारे मूल्यांकन गर्दै रेटिङ सार्वजनिक गर्ने गर्छ।


