
कैलाली- कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिकाले विपद्को अवस्थामा नसर्ने रोगसम्बन्धी अत्यावश्यक प्रतिकार्य कार्यक्रम ‘पेन डी’लाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने भएका छन् ।
रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएपछि ती पालिकाले उपचार सेवा र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका हुन् । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१९ मा विश्वभर ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण भएको थियो भने सन् २०४० सम्म यो संख्या ७९ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
बाढी र नदी कटानको उच्च जोखिममा रहेका भजनी र लालझाडी क्षेत्रमा ‘रिजिलियन्स एनसिडी’ परियोजना सञ्चालन भइरहेको छ । नोभो नोर्डिस्क फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त परियोजनामा डेनिस रेडक्रस, क्यानेडियन रेडक्रस, आरहुस विश्वविद्यालय तथा नेपाल रेडक्रस सोसाइटीले सहकार्य गरिरहेका छन् ।
भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरीले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘पेन डी प्याकेज’ समावेश गरिने जानकारी दिए । उनले नसर्ने रोगको रोकथाम र उपचारलाई विपद्को अवस्थामा मात्रै सीमित नगरी नियमित स्वास्थ्य सेवाको अभिन्न अङ्ग बनाउनुपर्ने आवश्यकता औंल्याए ।
यस्तै, लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले पनि ‘पेन डी प्याकेज’लाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार नेपाल रेडक्रस सोसाइटीले समुदायस्तरमा नसर्ने रोगका जोखिम, रोकथाम र बच्ने उपायबारे सचेतना अभिवृद्धि गर्ने काम गरिरहेको छ ।
परियोजनाअन्तर्गत बाढीजन्य विपद्का बेला नसर्ने रोगका बिरामीलाई स्वास्थ्य सेवा कसरी निरन्तर उपलब्ध गराउने भन्ने विषयमा कृत्रिम घटना अभ्याससमेत गरिएको थियो । उक्त अभ्यासमा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, रेडक्रसकर्मी, सञ्चारकर्मी तथा समुदायस्तरका विपद् व्यवस्थापन समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
भजनी नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख विष्णुराज न्यौपानेका अनुसार अभ्यासका क्रममा दीर्घरोगीको तथ्यांक अद्यावधिक गर्ने, आवश्यक औषधि भण्डारण गर्ने तथा बाढीको समयमा स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्ने विषयमा अभ्यास गरिएको थियो ।
लालझाडी गाउँपालिकाका विपद् शाखा प्रमुख हेमराज उपाध्यायले नसर्ने रोगका बिरामीका लागि नियमित औषधि सुरक्षित राख्ने तथा विपद्को समयमा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी अपरिहार्य रहेको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल ‘पेन डी प्याकेज’लाई प्रमाणीकरण गर्ने प्रक्रिया अघि बढाइरहेको जनाएको छ । स्वास्थ्यकर्मी तथा सरोकारवालाले विपद्को समयमा नसर्ने रोगका बिरामीलाई प्राथमिकतामा राखेर सेवा सञ्चालन गर्न स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताएका छन् ।


