
कैलाली- टीकापुर नगरपालिकाले सिकलसेल रोगका बिरामीलाई लक्षित गर्दै सहरी स्वास्थ्य प्रवर्धन तथा सिकलसेल केन्द्र स्थापना गरेको छ । नगरपालिकाले वडा नम्बर १ का नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको हो ।
सरकारको प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यअनुसार नगरपालिकाका नौवटै वडामा स्वास्थ्य संस्था स्थापना भइसकेका छन् । तर ठूलो जनसंख्या रहेको वडा नम्बर १ मा एउटै स्वास्थ्य संस्थाबाट सेवा दिन कठिन भएपछि टीकापुर नगरपालिका–१ ब्लक नम्बर २० मा नयाँ केन्द्र स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।
करिब ४७ हजार जनसंख्या रहेको उक्त वडामा अब सामान्य स्वास्थ्य सेवा मात्रै होइन, सिकलसेल रोगको परामर्श, परीक्षण तथा उपचारसमेत उपलब्ध हुने भएको छ ।
सिकलसेल एनिमिया राता रक्तकोष बाङ्गिएर नष्ट हुने प्रकारको रोग हो, जुन विशेषगरी थारू समुदायमा बढी देखिने गरेको छ ।
नगरपालिकाका जनस्वास्थ्य निरीक्षक केवलसिंह सार्कीका अनुसार टीकापुर नगरपालिकामा हालसम्म एक हजार ९१४ जनाको रगत परीक्षण गरिएकोमा ३२६ जनामा सिकलसेल ट्रेट र ८० जनामा कडा प्रकारको सिकलसेल रोग पुष्टि भएको छ ।
कैलाली जिल्लाभर सिकलसेल ट्रेट भएका व्यक्तिको संख्या करिब पाँच हजार रहेको र तीमध्ये झन्डै ८०० जनामा कडा खालको एनिमिया देखिएको तथ्यांक रहेको उनले जानकारी दिए । कडा सिकलसेल रोग भएका बिरामीलाई पटक–पटक रगत चढाउनुपर्ने तथा निरन्तर औषधि सेवन गर्नुपर्ने अवस्था रहने चिकित्सक बताउँछन् ।
केन्द्र सञ्चालनका लागि नगरपालिकाले मेडिकल अधिकृतको नेतृत्वमा स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, फार्मासिस्ट, ल्याब असिस्टेन्ट, एएनएम र अहेबसहित आठ जना स्वास्थ्यकर्मी नियुक्त गरेर सेवा सुरु गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत सुमन धितालका अनुसार यसअघि सामान्य उपचारका लागि समेत टीकापुर अस्पताल पुग्नुपर्ने बाध्यता थियो । अब वडा नम्बर १ का बासिन्दाले आफ्नै क्षेत्रमा सहज रूपमा स्वास्थ्य सेवा पाउने भएका छन् ।
जनस्वास्थ्य निरीक्षक सार्कीका अनुसार केन्द्रमा मेडिकल अधिकृतमार्फत सिकलसेल परामर्श तथा निदान सेवा, दैनिक बिरामी जाँच, प्रयोगशाला, फार्मेसी तथा स्वास्थ्य चौकीमा उपलब्ध हुने आधारभूत सेवा सञ्चालन गरिएको छ । प्रयोगशाला शुल्क निर्धारण नभएसम्म केही सशुल्क परीक्षण सेवा भने सञ्चालन नहुन सक्ने उनले बताए ।
केन्द्रका प्रमुख तथा मेडिकल अधिकृत डा. अभिनन्दन साहले १६ शय्याको क्षमता रहेको भवन भएकाले भविष्यमा यसलाई अस्पतालकै रूपमा विस्तार गर्न सकिने बताए । हाल ओपिडी सेवा र स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ ।
यो भवन कोरोना महामारीका बेला २०७८ सालमा एशियाली विकास बैंकको एक करोड ७९ लाख रुपैयाँको सहयोगमा निर्माण गरिएको थियो । त्यसपछि स्वास्थ्य मन्त्रालयबाट प्राप्त ६९ लाख रुपैयाँ सशर्त अनुदान तथा बैंकको उपकरण सहयोगमार्फत सोही भवनमा सहरी स्वास्थ्य प्रवर्धन तथा सिकलसेल केन्द्र स्थापना गरिएको जनस्वास्थ्य निरीक्षक सार्कीले जानकारी दिए ।
पूर्वाधार र आवश्यक उपकरणको व्यवस्था भएपछि नगरपालिकाले स्वास्थ्यकर्मी व्यवस्थापन गरी केन्द्र सञ्चालनमा ल्याएको हो ।


