
काठमाडौं– वैज्ञानिकहरूले संसारका हरेक पाँचमध्ये एक व्यक्तिमा मुटुरोग र मस्तिष्कघातको जोखिम बढाउने वंशानुगत तथा लुकेको कोलेस्ट्रोल सम्बन्धी समस्या रहेको पत्ता लगाएका छन्। सामान्य रगत परीक्षणमा कोलेस्ट्रोलको मात्रा सामान्य देखिए पनि विशेष प्रकारको कोलेस्ट्रोलका कारण गम्भीर स्वास्थ्य जोखिम हुन सक्ने नयाँ अनुसन्धानले देखाएको हो।
अनुसन्धानकर्ताका अनुसार रगतमा पाइने उक्त तत्वलाई ‘लिपोप्रोटिन ए’ (Lp(a)) भनिन्छ। यो खराब कोलेस्ट्रोलजस्तै देखिए पनि यसमा अतिरिक्त प्रोटिन हुने भएकाले मुटु र रक्तनलीका लागि अझ बढी हानिकारक हुने बताइएको छ। यो समस्या पूर्ण रूपमा वंशानुगत हुने र बाहिरी लक्षण नदेखिने भएकाले विश्वभर करिब २० प्रतिशत मानिस अनजानमै यस्तो जोखिम बोकेर बाँचिरहेको अध्ययनले जनाएको छ।
यो प्रतिवेदन क्यानडाको मोन्ट्रियलमा आयोजित ‘सोसाइटी फर कार्डियोभास्कुलर एन्जियोग्राफी एन्ड इन्टरभेन्सन २०२६’ को वैज्ञानिक सम्मेलनमा प्रस्तुत गरिएको हो। अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थानद्वारा सञ्चालित तीन ठूला अध्ययनमा सहभागी ४० वर्षभन्दा माथिका २० हजार ७० जना वयस्कको रगत परीक्षणपछि अनुसन्धानकर्ताले यस्तो निष्कर्ष निकालेका हुन्।
करिब चार वर्षसम्म गरिएको अनुगमनका क्रममा रगतमा Lp(a) को मात्रा १७५ nmo/L वा सोभन्दा बढी भएका व्यक्तिमा गम्भीर मुटुसम्बन्धी समस्या देखिने जोखिम उल्लेखनीय रूपमा उच्च रहेको पाइएको छ। अध्ययनअनुसार यस्ता व्यक्तिमा मुटुरोगबाट मृत्यु हुने सम्भावना ४९ प्रतिशत र मस्तिष्कघातको जोखिम ६४ प्रतिशत बढी देखिएको छ। पहिले नै मुटुरोग भइसकेका बिरामीमा यो जोखिम अझ उच्च रहेको उल्लेख गरिएको छ।
वरिष्ठ इन्टरभेन्सनल कार्डियोलोजिस्ट डा. सुभाष बनर्जीका अनुसार यस अध्ययनले पहिलो पटक Lp(a) को कुन स्तरलाई उच्च जोखिम मान्ने भन्ने स्पष्ट आधार दिएको छ। उनले उमेर जेसुकै भए पनि एकपटक साधारण रगत परीक्षण गरेर शरीरमा यस्तो वंशानुगत जोखिम छ वा छैन भन्ने पत्ता लगाउन सकिने बताएका छन्।
उनका अनुसार यदि Lp(a) को मात्रा उच्च देखिएमा चिकित्सकको सल्लाहअनुसार एलडीएल कोलेस्ट्रोल नियन्त्रणमा राख्ने, स्वस्थ जीवनशैली अपनाउने तथा मुटु सुरक्षित राख्ने उपाय कडाइका साथ पालना गर्न आवश्यक हुन्छ। भविष्यमा यही तत्वलाई लक्षित गरी नयाँ उपचार विधि विकास भइरहेकाले यो परीक्षण बिरामीका लागि निकै उपयोगी हुने वैज्ञानिकहरूको विश्वास छ।


