
काठमाडौं – अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा ह्याम्स अस्पतालकी नर्सिङ इन्चार्ज कुसुम केसीले नर्सिङ पेशा केवल जागिर नभई मानव सेवाको सबैभन्दा संवेदनशील दायित्व भएको बताएकी छन्।
‘हाम्रा नर्सहरू, हाम्रो भविष्य : सशक्त नर्सहरूले जीवन बचाउँछन्’ भन्ने नारासहित मनाइँदै गरेको सन् २०२६ को अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा उनले बिरामीको सेवा नै नर्सको धर्म भएको उल्लेख गरिन्।
१० वर्षदेखि नर्सिङ सेवामा सक्रिय केसीले नर्सले बिरामीको पीडा, डर र भावनालाई नजिकबाट बुझ्ने बताइन्। ‘नर्सले बिरामीको दुःखलाई आफ्नै दुःखझैँ महसुस गर्छ। बिरामीको आँसु देख्दा आफू पनि भावुक हुन्छौँ,’ उनले भनिन्, ‘हामी बिरामीको हरेक क्षणसँग जोडिएर काम गरिरहेका हुन्छौँ।’
उनका अनुसार नर्सिङ पेशाले केवल स्वास्थ्य सेवा मात्र नभई मानवीय संवेदनाको पाठ पनि सिकाएको छ। ‘नर्स भएर मैले जुन अनुभव र आत्मसन्तुष्टि पाएँ, त्यो अन्य पेशामा सायद सम्भव हुने थिएन,’ उनले सुनाइन्।
कुसुम केसीले नर्सहरूलाई बिरामी पूर्ण रूपमा निको भएर डिस्चार्ज नहुँदासम्म सकारात्मक सोच र मुस्कानसहित सेवा गर्न आग्रह गरिन्। ‘आफ्नो व्यक्तिगत समस्या बिर्सिएर बिरामीको सेवामा समर्पित हुनु नै नर्सको धर्म हो,’ उनले भनिन्।
उनले नर्सिङ पेशामा अझै धेरै चुनौती रहे पनि बिरामीको स्वास्थ्यमा आएको सुधार र उनीहरूको मुस्कानले आफूहरूलाई निरन्तर काम गर्न प्रेरणा दिने बताइन्।
अन्त्यमा उनले नर्सिङ पेशाप्रति गर्व व्यक्त गर्दै भनिन्, ‘म नर्स हुनुमा गर्व गर्छु।’


