
काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी तथा निजी अस्पतालहरूको अनुगमनलाई तीव्र बनाएको छ । मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियमन महाशाखाले डा रोशन न्यौपानेको नेतृत्वमा विशेष अनुगमन टोली परिचालन गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार अस्पतालहरूले प्रदान गरिरहेको स्वास्थ्य सेवाको गुणस्तर मूल्याङ्कन तथा नियमनलाई प्रभावकारी बनाउन दैनिक अनुगमनलाई उच्च प्राथमिकतामा राखिएको छ ।
यस अभियानअन्तर्गत गत हप्ता कान्तिबाल अस्पताल र अल्का अस्पतालमा छड्के अनुगमन गरिएको मन्त्रालयले जनाएको छ । अनुगमनका क्रममा अस्पतालहरूले तोकिएको मापदण्ड पालना गरे–नगरेको, सेवा प्रवाहको अवस्था तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइएको विषयमा विशेष निगरानी गरिएको थियो ।
मन्त्रालयले हाल अस्पतालहरूलाई सघन सुपरिवेक्षण गर्दै सुधारका लागि सचेत गराउने काम गरिरहेको जनाएको छ । तर, अनुगमनका क्रममा तोकिएको मापदण्ड विपरीत कमजोरी वा लापरबाही भेटिएमा सम्बन्धित जिम्मेवार अधिकारीलाई कानुनी दायरामा ल्याएर आवश्यक कारबाही अघि बढाइने चेतावनी पनि दिएको छ ।
मन्त्रालयले पछिल्लो समय स्वास्थ्य संस्थामाथिको नियमनलाई थप कडा बनाएको जनाएको छ । अस्पतालको अनुगमनपछि अब फार्मेसीलगायत स्वास्थ्य सेवा प्रवाह हुने अन्य केन्द्रहरूमा समेत अनुगमन अभियानलाई तीव्र बनाइने तयारी गरिएको छ ।


