
दाङ- दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोग उपचार सेवा सुरु भएको छ। प्रतिष्ठानमा मुटुरोग विशेषज्ञ डा. दिनेश उप्रेती कार्यरत भएसँगै इन्टरभेन्सनल कार्डियोलोजी सेवा सञ्चालनमा आएको हो।
डा. उप्रेतीका अनुसार प्रतिष्ठानमा कोरोनरी एन्जियोग्राफी तथा आकस्मिक पेरिकार्डियोसेन्टेसिस सेवा सुरु गरिएको छ। दाङमै पहिलोपटक कोरोनरी एन्जियोग्राफी सेवा सुरु भएको बताइएको छ, जसले मुटुको रक्तनलीमा समस्या भए–नभएको पहिचान गर्न महत्वपूर्ण सहयोग पुर्याउँछ।
“हामीले मुटुको रक्तनलीको अवस्था जाँच गर्ने एन्जियोग्राफी सेवा सुरु गरेका छौँ,” डा. उप्रेतीले भने, “यसले मुटुरोगको सही पहिचान गर्न मद्दत गर्छ।” उनले आवश्यक थप उपकरण उपलब्ध भएमा हर्ट अट्याक भएका बिरामीको एन्जियोप्लास्टी सेवा पनि सञ्चालन गर्न सकिने जानकारी दिए।
प्रतिष्ठानमा क्याथल्याब मेसिन जडान भइसकेकाले मुटुरोग उपचार सेवा थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। साथै, मुटुको इको सेवा पनि नियमित रूपमा सञ्चालनमा रहेको छ।
प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्सालले मुटुरोग उपचारलाई अझ विस्तार गर्न आवश्यक उपकरण थप गर्ने प्रक्रिया अघि बढाइएको बताए।



