
काठमाडौं – उच्च अदालत पाटनले पाटन अस्पताल परिसरमा बिरामी र कुरुवाबाट पार्किङ शुल्क असुल गर्ने निर्णय बदर गरेको छ।
न्यायाधीश ऋषि राजभण्डारी र रमेशप्रसाद ज्ञवालीको संयुक्त इजलासले अस्पतालमा उपचारका लागि आउने बिरामी, कुरुवा तथा सेवाग्राहीबाट पार्किङ शुल्क लिँदा उनीहरूमा थप आर्थिक भार पर्ने भन्दै उक्त निर्णय खारेज गरेको हो।
अदालतले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा सेवा लिन आउने व्यक्तिबाट पार्किङ शुल्क नलिन आदेश दिएको छ। साथै, बिरामीका कुरुवा बाहेक अन्य सवारी साधनको हकमा भने सम्झौता अनुसार मात्र शुल्क लिन र व्यवस्थित पार्किङ व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले भूमिगत पार्किङ क्षेत्र भाडामा दिने प्रक्रिया अघि बढाएको विषयमा परेको रिटपछि अदालतले अन्तरिम आदेश जारी गर्दै शुल्क असुलीमा रोक लगाएको थियो।
अदालतको यो निर्णयपछि अस्पताल आउने बिरामी र कुरुवालाई राहत मिल्ने अपेक्षा गरिएको छ।



