कैलाली- सुदूरपश्चिम प्रदेशमा कूल जनसङ्ख्याको २६ प्रतिशत व्यक्ति स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् ।
स्वास्थ्य बीमामा सात लाख तीन हजार ९०५ जना आबद्ध भएका हुन् । २०७२ देखि सुरु गरिएको यो कार्यक्रममा अझै पनि धेरै नागरिक समेटिन बाँकी छ। प्रदेशको कूल जनसङ्ख्या २६ लाख ९४ हजार ७८३ रहेको छ । स्वास्थ्य सेवामा नागरिकको सर्वसुलभ पहुँच विस्तार गर्ने उद्देश्यले नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो ।
बिमा बोर्डका अनुसार समेटिएका दुई लाख २८ हजार ३९८ परिवारमध्ये एक लाख ५४ हजार ५०५ परिवार विपन्न, सीमान्तकृत, जोखिममा रहेका समूहका छन् । ७३ हजार ८९३ परिवार अन्य श्रेणीका छन् । चालु आव २०८२/०८३ को चैतसम्म ७९ हजार १९५ परिवार क्रियाशील रहेका छन् ।
यो सङ्ख्या कूल बीमित परिवारको तुलनामा निकै कम हो । ठूलो सङ्ख्यामा परिवारले बिमा नवीकरण गर्न इच्छुक नभएको देखिन्छ ।
गत वर्ष ६ लाख ७३ हजार ९५३ नागरिकले स्वास्थ्य बिमा गराएको बिमा बोर्ड कार्यालय सुदूरपश्चिम प्रदेशले जनाएको छ ।कार्यालय अनुसार आव २०७९/८० मा एक लाख ३४ हजार ६२६ परिवार बिमामा आबद्ध भएका थिए ।
बिज्ञापन
आव २०८०/८१ मा एक लाख २६ हजार ४५ र आव २०८१/८२ मा एक लाख ४६ हजार ८९८ परिवार बिमा आबद्ध भएको तथ्यांकमा उल्लेख छ ।







