काठमाडौँ– अब स्वास्थ्य बीमा प्रणालीमा बिमितले आफ्नो खर्च विवरण सजिलै थाहा पाउने भएका छन्। स्वास्थ्य बिमा बोर्डले सूचना जारी गर्दै बिमितको खाताबाट दैनिक रुपमा गरिएको दाबी रकमको विवरण एचआईभी एलर्ट प्रणालीमार्फत बिमितको मोबाइलमा एसएमएसमार्फत प्राप्त हुने व्यवस्था सुरु गरिएको जानकारी दिएको छ।
पहिले बिमितले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत औषधी वा उपचार गर्दा अस्पतालबाट बिल पाए पनि कति रकम खर्च भयो र कति बाँकी छ भनेर थाहा पाउन जटिलाइ भएको थियो। बिमितहरूले आफ्नो खातामा खर्च र बाँकी रकम तुरुन्तै पत्ता लगाउने सुविधा माग गर्दै आएका थिए।
बोर्डले यस नयाँ डिजिटल सेवा सुरु गरेर बिमितको सहजता, पारदर्शिता र विश्वास अझ मजबुत बनाउन खोजेको जनाएको छ।
यस सेवाबाट लाभ लिनका लागि बिमितले आफ्नो मोबाइल नम्बर अद्यावधिक गराउनुपर्नेछ। हालसम्म मोबाइल नम्बर अद्यावधिक नगरेका बिमितले आफ्नो बिमा गरिएको जिल्लाको स्वास्थ्य बिमा बोर्ड कार्यालयमा सम्पर्क गरी विवरण अद्यावधिक गर्नुपर्ने बोर्डले अनुरोध गरेको छ।







