काठमाडौँ- हङकङमा फेब्रुअरी ५ देखि ८, २०२६ सम्म सम्पन्न ४१औँ एशिया–प्यासिफिक नेत्ररोग प्रतिष्ठान (एपीएओ) महाधिवेशन तथा ३७औँ हङकङ नेत्ररोग वैज्ञानिक सम्मेलनमा नेपालको उल्लेखनीय सहभागिता, अन्तर्राष्ट्रिय सम्मान र द्विपक्षीय सहकार्यले नेपाली नेत्रचिकित्सा क्षेत्रको विश्वव्यापी पहिचान अझ मजबुत बनेको छ।
“भविष्यतर्फ दृष्टि: नेत्रचिकित्सामा नवीनता” भन्ने नाराका साथ सम्पन्न सम्मेलनमा विश्वभरबाट करिब १५ हजार सहभागी तथा एक हजारभन्दा बढी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विज्ञहरूको उपस्थिति रहेको थियो। उक्त सम्मेलनमा नेपालबाट ५० जनाभन्दा बढी नेत्ररोग विशेषज्ञहरूले सक्रिय सहभागिता जनाएका थिए।
नेपाल नेत्ररोग समाजका महासचिव डा. तेजसु सिंह मल्लका अनुसार सम्मेलनकै क्रममा नेपालका अग्रणी भिट्रियो–रेटिना शल्यचिकित्सक डा. संयम बजिमायालाई एपीएओ विशिष्ट सेवा सम्मान प्रदान गरिएको छ। त्यस्तै, सगरमाथा चौधरी आँखा अस्पताल, लहानलाई अन्धोपन निवारणमा उत्कृष्ट सेवा सम्मान प्रदान गरिएको छ। यी दुवै सम्मान नेपाल नेत्ररोग समाजको तर्फबाट नामांकन गरी प्रदान गरिएका हुन्।

एपीएओ विशिष्ट सेवा सम्मान आफ्नै देश तथा एशिया–प्यासिफिक क्षेत्रमा नेत्रचिकित्सा सेवाको विकास र सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्याउने नेत्ररोग विशेषज्ञलाई प्रदान गरिन्छ। यसअघि नेपालबाट यो सम्मान प्राप्त गर्नेहरूमा डा. चन्द्र बनर्जी, डा. सन्दुक रूइत, डा. रीता गुरुङ, डा. अनु मानन्धर, डा. मीनु चौधरी, डा. लीला राज पुरी, डा. सगुन नारायण जोशी, डा. सुरेश राज पन्त, डा. चेत राज पन्त, डा. रोहित सैजु, डा. सुमन थापा र डा. मोहन बज्राचार्यलगायत रहेका छन्।
त्यसैगरी, अन्धोपन निवारणमा उत्कृष्ट सेवा सम्मान एशिया–प्यासिफिक क्षेत्रमा अन्धोपन रोकथाममा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ। नेपालबाट यसअघि डा. सल्मा केसी, नेपाल आँखा अस्पताल, बी.पी. कोइराला लायन्स केन्द्र, हुकुम प्रसाद पोखरेल, अनिल गोर्खाली, शैलेश कुमार मिश्र, विमल कुमार पौड्याल तथा युद्धध्वज सापकोटाले यो सम्मान प्राप्त गरिसकेका छन्।
डा. संयम बजिमाया हाल ललितपुरस्थित नेत्रधाम आँखा सेवा केन्द्र प्रालिका कार्यकारी प्रमुख हुनुहुन्छ। उहाँ नेपाल भिट्रियो–रेटिना समाजका अध्यक्ष हुनुका साथै नेपाल नेत्ररोग समाजमा विभिन्न नेतृत्वदायी जिम्मेवारी निर्वाह गर्दै नेत्रचिकित्सा सेवा, शिक्षा र अनुसन्धानको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका थिए।
सगरमाथा चौधरी आँखा अस्पताल सन् १९८३ मा स्थापना भई हाल ४५० शय्याको क्षमतासहित पूर्वी नेपाल तथा सीमावर्ती भारतका लाखौँ विपन्न नागरिकलाई गुणस्तरीय, सुलभ र उच्चस्तरीय आँखा सेवा प्रदान गर्दै आएको छ। अस्पतालले वार्षिक ४८ हजारभन्दा बढी मोतियाबिन्दुको शल्यक्रिया गर्दै अन्धोपन निवारणमा ऐतिहासिक योगदान पुर्याउँदै आएको छ। ३९ वटा उप–आँखा तथा कान सेवा केन्द्रमार्फत समुदायस्तरसम्म सेवा विस्तार गर्दै आएको यो अस्पताल अन्धोपन निवारणको दिगो नमूनाका रूपमा स्थापित छ। उक्त सम्मान अस्पतालको तर्फबाट डा. महेश चौधरी र डा. सञ्जीव चौधरीले ग्रहण गरेका थिए।
सम्मेलनमा तिलगंगा आँखा प्रतिष्ठानकी बाल नेत्ररोग विशेषज्ञ डा. सृजना अधिकारीले एपीएओ उपलब्धि सम्मान प्राप्त गर्नुभएको छ भने डा. सुधा रानाभाटले प्रोफेसर यासुओ तानो यात्रा अनुदान–२०२६ प्राप्त गर्न सफल भएका थिए।
सम्मेलनकै अवसरमा नेपाल नेत्ररोग समाजले अमेरिकी नेत्ररोग प्रतिष्ठान तथा नेत्ररोग प्रतिष्ठानसँग उच्चस्तरीय छलफल गरेको छ। छलफलमा नेपाली नेत्ररोग विशेषज्ञहरूको शैक्षिक उन्नयन, तालिम, विशेषज्ञता विकास तथा व्यावसायिक क्षमता अभिवृद्धिमा सहकार्य विस्तार गर्ने विषयमा सकारात्मक सहमति भएको छ।
त्यस्तै, ताइवान नेत्ररोग समाजसँग शैक्षिक तथा सांस्कृतिक आदान–प्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्यले द्विपक्षीय सहकार्य सुदृढ गर्न समझदारीपत्र प्रक्रियालाई अघि बढाउने सहमति भएको छ।
नेपाल नेत्ररोग समाजका अध्यक्ष डा. पुरुषोत्तम जोशीका अनुसार सम्मेलनकै अवसरमा सन् २०२६ नोभेम्बर १२ देखि १४ सम्म नेपालमा आयोजना हुने एशिया–प्यासिफिक आँखा चोट विशेषज्ञ सम्मेलन, नेपाल नेत्ररोग समाजको २८औँ वार्षिक सम्मेलन तथा नेपाल आँखा प्लास्टिक शल्यचिकित्सा समाजको छैटौँ सम्मेलन सम्बन्धी जानकारी अन्तर्राष्ट्रिय समुदायलाई प्रदान गरिएको थियो। उक्त कार्यक्रम नेपालका लागि एक महत्वपूर्ण अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने विश्वास व्यक्त गरिएको छ।
नेपाल नेत्ररोग समाजले हङकङमा सम्पन्न यस सम्मेलनलाई नेपाली नेत्रचिकित्सा क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान, नेतृत्व विकास, संस्थागत सहकार्य विस्तार तथा अन्धोपन निवारणमा नेपालको योगदान विश्वमञ्चमा उजागर गर्ने ऐतिहासिक उपलब्धिका रूपमा मूल्याङ्कन गर्दै सम्मानित सबै व्यक्ति र संस्थालाई हार्दिक बधाई ज्ञापन गरेको छ।







