काठमाडौं – नेपाल औषधि उत्पादक संघको आयोजनामा आउँदो फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा दशौँ संस्करणको ‘नेपाल फर्मा एक्स्पो २०२६’ आयोजना हुने भएको छ। यस एक्स्पोको मूल नाराः “फर्मामा नवीनता: भोलिको स्वास्थ्यका लागि” रहेको छ।
यस एक्स्पोले नेपाली औषधि क्षेत्रको आधुनिक रूपान्तरण र प्रविधि नवप्रवर्तनलाई उजागर गर्ने लक्ष्य राखेको छ। यस पटक २०० भन्दा बढी स्टलहरू रहनेछन्, जसमा औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चा पदार्थ, प्याकिङ्ग उत्पादन र मेसिनरीहरू प्रदर्शन गरिनेछन्।
विशेषतः, १० प्रतिशतभन्दा बढी स्टलहरूमा विदेशी तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता रहनेछ, जसले विश्व बजारमा आएको नवीनतम प्रविधि नेपाली बजारसँग जोड्नेछन्। बाँकी स्टलहरूमा स्वदेशी औषधि उद्योगका उत्कृष्ट उत्पादनहरू प्रदर्शन गरिनेछन्।
नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले भने, “हिजोका दिनमा भएका अनुसन्धान र आविष्कारहरू आजको औषधि उद्योगको आधार हुन्। आजको नवीन सोच र प्रविधिमा गरिने लगानीले नै भोलिको स्वस्थ नेपालको भविष्य सुनिश्चित गर्नेछ। यो एक्स्पो केवल प्रदर्शनी मात्र नभई नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने एउटा बलियो खुड्किलो हो।”
संघका महासचिव सन्तोष बरालले थपे, “नेपालमै अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय औषधि उत्पादन हुन्छ भन्ने विश्वास दिन यस एक्स्पोले महत्वपूर्ण भूमिका खेल्नेछ। जो कोहीले नेपाली औषधिको क्षमता बुझ्न चाहन्छन्, तिनीहरूको प्रवेश निःशुल्क हुनेछ।”
यस पटकको एक्स्पोको तयारीका रूपमा विभिन्न पूर्व-कार्यक्रमहरू पनि सञ्चालन गरिएको छ। माघ २ र ३ गते १६ वटा उद्योगको सहभागितामा फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भइसकेको छ।







