झापा- झापामा एमबीबीएस अध्ययनरत एक विद्यार्थीले सिरिन्ज प्रहार गरी एक वृद्धको हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सिरहाका २७ वर्षीय दीपेशकुमार सिंहले झापाको भद्रपुर नगरपालिका–१० निवासी ६६ वर्षीय खेमराज ढकालको ज्यान लिएका हुन्।
झापा प्रहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार सिंह धरानमा बस्दै एमबीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन्। उनी बुधबार भद्रपुर आएका थिए र एक होटलमा बास बसेका थिए।
प्रहरीका अनुसार बिहीबार साँझ सिंहले ढकाललाई घरबाहिर बोलाई घाँटीमा आधा गाडिने गरी सिरिन्ज प्रहार गरेका थिए। त्यसपछि सिरिन्जभित्र रहेको रसायन शरीरभित्र पठाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सिरिन्जमा भरिएको रसायन के थियो भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिए।
प्रहरीका अनुसार सिंह र मृतक ढकालकी छोरी एउटै कलेजमा अध्ययनरत विद्यार्थी हुन्। उनीहरूबीचको रिसइबीका कारण घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।
मृतकको शव पोस्टमार्टमका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







