मकवानपुर- हेटौंडास्थित चुरे हिल अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशिल शाहमाथि बिरामीका आफन्तले हातपात गरेका छन्। बिरामी भर्ना गर्ने–नगर्ने र स्वास्थ्य बीमा प्रक्रियासम्बन्धी विवादका क्रममा बुधबार साँझ करिब ७ बजे हेटौंडा–११ का अजित विडारीले डा. शाहलाई धकेली मुक्का प्रहार गरेका हुन्।
अस्पतालका निर्देशक डा. आकेश प्रजापति अनुसार दुर्घटनामा परी कुहिनोमा सामान्य चोट लागेकी सुरक्षा कँडेललाई उपचारका लागि अस्पताल ल्याइएको थियो। प्रारम्भिक उपचारपछि डा. शाहले घाउ सफा गर्ने, टाँका लगाउनुअघि एक दिन अब्जर्भेसनका लागि भर्ना हुनुपर्ने बताउँदा विवाद चर्किएको थियो।
भर्ना हुन अस्वीकार गर्दै बिरामी पक्षले रिफर गर्न दबाब दिएपछि विवाद झन् बढेको प्रारम्भिक जानकारी छ। सो क्रममा उपस्थित विडारीले डा. शाहमाथि हातपात गरेको अस्पतालमा ड्युटीमा रहेका प्रहरी हवल्दार रवि लोप्चनले बताए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार डा. शाहलाई गम्भीर चोटपटक नलागे पनि घटनाबारे अनुसन्धान भइरहेको छ। हातपात गर्ने व्यक्तिको पहिचान भइसकेको र खोजी भइरहेको प्रहरीको भनाइ छ।
यसैबीच, चिकित्सक संघ मकवानपुरले घटनाबारे छलफल अघि बढाउँदै पीडित डा. शाह तथा अस्पताल प्रशासनसँगको समन्वयमा प्रहरीमा औपचारिक उजुरी दिने निर्णय गरेको सचिव डा. राजु सेढाईंले बताएका छन्।








