काठमाडौं- नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ।

सङ्घका अध्यक्ष डा. अनिल विक्रम कार्कीसहितका पदाधिकारीहरूले शुक्रबार मन्त्री गौतमसँग भेट गरी उनको कार्यकालको शुभकामना व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न सुझाव प्रस्तुत गरेका हुन्।
सुझावको मुख्य उद्देश्य प्राथमिक स्वास्थ्य संरचना बलियो बनाउने, राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउने र सङ्घीय, प्रादेशिक तथा स्थानीय तहबीच निगरानी तथा जिम्मेवारी स्पष्ट पार्नु रहेको छ। चिकित्सक, स्वास्थ्यकर्मी र जनतालाई समेटेर स्वास्थ्य सेवा प्रणालीका प्रमुख चुनौतीहरू समाधान गर्न यी सुझाव दिइएको सङ्घले जनाएको छ।

भेटपछि जारी विज्ञप्तिमा सङ्घले प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा पर्याप्त चिकित्सक, औषधि, परीक्षण सुविधा र व्यावसायिक क्षमताको अभाव रहेको औँल्याएको छ। साथै मानव स्रोत र समायोजन सम्बन्धी समस्या रहेको जानकारी पनि दिएको छ।
सङ्घले भनेको छ, ‘सबै तहका चिकित्सक र स्वास्थ्यकर्मीलाई समान कामका लागि समान पारिश्रमिक नीति तत्काल लागू गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकाको सञ्जाल, स्थानीय सरकार र कानुनी प्रावधान जस्ता आधारभूत संरचनामा सुधार आवश्यक छ। स्पष्ट जिम्मेवारी, पूर्वाधार, मानव स्रोत, वित्तीय प्रवाह र गुणस्तर सुनिश्चित गर्न समन्वय आवश्यक छ। यसका लागि तत्काल पहल हुनुपर्छ।’







