काठमाडौं – मोबाइल हाम्रो जीवनको अपरिहार्य हिस्सा बनेको छ, तर यसलाई अनावश्यक स्थान र समयमा प्रयोग गर्नुले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। विशेषगरी ट्वाइलेटमा मोबाइल चलाउने बानी आजकाल धेरैमा सामान्यजस्तै देखिन्छ। तर यही सामान्य लाग्ने बानीले निम्न ५ स्वास्थ्य समस्या निम्त्याउन सक्छ:
१. कब्जियत, फिस्टुला र फिसरको खतरा
ट्वाइलेटमा लामो समय बस्दा मलद्वार वरिपरिका मांसपेशीमा निरन्तर दबाब पर्छ। यसले गम्भीर पाचनसम्बन्धी समस्या जस्तै कब्जियत, पाइल्स (बवासीर), फिस्टुला र फिसर निम्त्याउन सक्छ।
२. संक्रमण फैलिने जोखिम
ट्वाइलेटको वातावरणमा हुने किटाणु मोबाइलमा सर्ने सम्भावना हुन्छ। यही मोबाइल हात हुँदै किचन, बेडरुम वा खानपानमा प्रयोग हुँदा पेटसम्बन्धी संक्रमण, झाडापखाला, र अन्य जटिल रोगहरू लाग्न सक्छन्।

३. रक्तसञ्चारमा बाधा
एकै मुद्रामा धेरैबेर बस्दा शरीरको रक्तसञ्चार प्रणालीमा अवरोध आउँछ। खुट्टा सुन्निने, स्नायु च्यापिने, घुँडा वा पिठ्यु दुख्ने समस्या देखिन सक्छ।
४. मानसिक तनाव र चिढचिढोपन
मोबाइलमा सामाजिक सञ्जाल वा समाचार हेर्दा मनोवैज्ञानिक रूपमा तनाव बढ्न सक्छ। निरन्तर फोन प्रयोगले ध्यान कमजोर हुन्छ, चिढचिढोपन, रिस उठ्ने, डिप्रेसनजस्ता लक्षण देखिन सक्छन्।
५. मधुमेह र मोटोपनको जोखिम
मोबाइलले खानपानको समय र भोकको लय बिगार्न सक्छ। यसले शरीरमा चिनी र इन्सुलिनको असन्तुलन ल्याउँछ, जसबाट टाइप २ डायबिटिज, मोटोपन र स्ट्रोकजस्ता दीर्घरोगको खतरा बढ्छ।

के गर्ने त ?
-ट्वाइलेटमा मोबाइल लैजानु हुँदैन।
-सटिक र छरितो रूपमा ट्वाइलेटको प्रयोग गर्नुपर्छ (५–१० मिनेटभित्र)।
-मोबाइलको प्रयोग समय सीमित गर्न सकिन्छ।
-ध्यान, श्वासप्रश्वास नियन्त्रणजस्ता अभ्यास प्रभावकारी हुन्छन्।







