दमौली – तनहुँको प्रदेश अस्पताल दमौलीमा चिकित्सक अभावका कारण प्रसूति सेवा प्रभावित भएको छ। अस्पतालमा शल्यक्रिया गर्नुपर्ने अवस्था आएमा गर्भवती महिलालाई पोखरा, चितवन वा काठमाडौं रेफर गर्नुपर्ने बाध्यता छ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. परिवर्तन बरालका अनुसार साढे दुई महिनाअघि स्त्रीरोग विशेषज्ञ गाइनोलोजिस्ट डा. कुमार विष्टको सरुवापछि शल्यक्रिया सेवा ठप्प भएको हो। डा. विष्ट भक्तपुरस्थित क्यान्सर अस्पतालमा सरुवा भएपछि अहिले अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध छैन।

“सामान्य अवस्थामा सुत्केरी सेवा उपलब्ध गराइरहेका छौं, तर शल्यक्रिया आवश्यक पर्ने गर्भवतीलाई रेफर गर्नुपर्ने अवस्था छ,” डा. बरालले बताए।
विशेषज्ञ चिकित्सक अभावका कारण महिलाको स्वास्थ्य जोखिममा परेको भन्दै स्थानीयवासीले चाँडै समाधान गर्न सरकारसँग माग गरेका छन्।







