काठमाडौँ- गर्मीको मौसममा तापक्रमसँगै स्वास्थ्यसम्बन्धी विविध समस्याहरू देखिन्छन् । ज्वरो, बान्ता, पखाला जस्ता सामान्य समस्याका साथै केही व्यक्तिहरूलाई आँखामा रातोपन, पोल्ने र बिझाउने समस्या पनि देखिन्छ । विज्ञहरूका अनुसार यस्तो समस्याको मुख्य कारण चर्को घाम, धुलो-माटो, पानीको कमी र पसिनाले हुने संक्रमण हुन सक्छ ।
गर्मीमा आँखा रातो हुने समस्याबाट बच्नका लागि यस्ता सावधानी अपनाउन सकिन्छ:
-आइस प्याकले राहत पाउनुहोस्
आँखा पोल्ने वा रातो हुने समस्या देखिएमा हलुका तरिकाले आइस प्याक आँखामाथि केही मिनेट राख्न सकिन्छ । यसले आँखालाई शीतल बनाउने मात्र होइन, पोल्ने समस्या पनि कम गर्छ । आइस प्याक प्रयोग गर्नु अघि हात सफा गर्नु अनिवार्य छ ।

– प्रशस्त पानी पिउनुहोस्
गर्मीमा शरीरमा पानीको कमी हुँदा आँखा सुख्खा भएर रातो देखिन सक्छ । पानीको पर्याप्त सेवनले शरीरमा जमेको संक्रमण बाहिर निकाल्न सहयोग गर्छ । त्यसैले दिनभरि प्रशस्त पानी पिउन बिर्सनुहुँदैन ।
– युभी प्रोटेक्सन भएको चस्मा लगाउनुहोस्
धुलो, घाम र हावाबाट आँखालाई सुरक्षित राख्न युभी प्रोटेक्सन भएको चस्माको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसले आँखा संक्रमण र पोल्ने समस्या घटाउन मद्दत गर्छ ।
– आँखा सफा राख्नुहोस्
गर्मीमा पसिना बगेर आँखामा पर्नसक्छ, जसले संक्रमण निम्त्याउँछ । त्यसैले दिनमा ३–४ पटक चिसो पानीले आँखा धुनु, सफा राख्नु आवश्यक छ । घर बाहिरबाट फर्केपछि पनि आँखाको सफाइ गर्न नबिर्सनुहोस् ।








