
स्याङ्जा – जिल्लाकाे वालिङ नगरपालिका-७ मा नि:शुल्क आँखा परीक्षण शिविर सम्पन्न भएकाे छ। वैशाख २० गते शनिबार कँवरे भञ्ज्याङ् स्वास्थ्य चौकीमा सम्पन्न निःशुल्क आँखा परीक्षण शिविरमा २३५ जनाले आँखा सम्बन्धी सेवा प्राप्त गरेका छन्।
शिविरमा १५३ महिला र ८२ पुरुषको आँखा परीक्षण गरिएको थियो। विभिन्न आँखा समस्या पत्ता लागेकोमा मोतिबिन्दुको शल्यक्रियाको लागि १८ जनालाई सिफारिस गरिएको छ। त्यस्तै, ड्राइ आई भएका ५१ जना, प्टेरिजियम १८, पिङ्गुएकुला ११, रिफ्र्याक्टिभ एरर २६, प्रेसबायोपिया ८६, आक्युलर एलर्जी ९, कनजङक्टिभाइटिस २, स्क्विन्ट १, ब्लीफाराइटिस २ र १ जनामा ट्राइखियासिस समस्या देखिएको थियो।

शिविरमा ८२ जनालाई निःशुल्क रिडिङ चश्मा वितरण गरिएको थियो भने १६१ जनालाई निःशुल्क औषधि उपलब्ध गराइएको थियो।
उक्त शिविर वालिङ नगरपालिका वडा नम्बर ०७ को आयोजनामा बीएम फाउन्डेसन र ताइवान प्रिभेन्ड ब्लाइन्डनेसको सह-आयोजनामा सम्पन्न भएको हो। सहयोगी संस्थाको रूपमा केडीसी अस्पताल तथा केडीसी आई केयर सेन्टर र हिमालय आँखा अस्पतालको महत्वपूर्ण भूमिका रहेको थियो।

शिविरमा ताइवान प्रिभेन्ड ब्लाइन्डनेसका इन्टरनेशनल प्रोग्राम म्यानेजर मोल्ली ली यिन र इन्टरनेशनल डाइरेक्टर हुआंग स्वानको पनि विशेष उपस्थिति रहेको थियो।
यस्तै वैशाख २१ गते विद्यार्थीहरूका लागि आँखा स्वास्थ्य शिक्षा कार्यक्रमसमेत आयोजना गरिएकाे आयोजकले जानकारी दिएका छन्।




