
दार्चुला – जिल्ला अस्पताल दार्चुलामा रेबिजविरुद्ध प्रयोग हुने एआरभी खोप अभाव भएपछि जनावरको टोकाइबाट प्रभावित बिरामीहरू उपचार नपाएर समस्यामा परेका छन्।
जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टका अनुसार, कुकुर, बिरालो वा मुसाजस्ता जनावरले टोकेपछि तुरुन्त लगाइने खोप अभाव भएपछि सोमबार दुई जना र मंगलबार एक जना बिरामी रित्तो हात फर्किनुपरेको छ।
सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको यो खोप हाल अस्पतालमा सकिएको छ। अस्पतालले सोमबार एक सूचना जारी गर्दै खोपको आपूर्ति नभएसम्म खोप उपलब्ध गराउन नसकिने जनाएको छ। यदि बिरामी आफैंले खोप खरिद गरेर ल्याएमा मात्र लगाइदिने व्यवस्था गरिएको छ।
हालसम्म यो महिनामा ३६ जना सेवाग्राहीले रेबिजविरुद्धको खोप लगाइसकेका छन्। तर अहिले अभाव भएपछि उनीहरूका लागि खोप उपलब्ध गराउन नसकिएको जनाइएको छ। दार्चुलामा निजी रूपमा समेत खोप नपाइने अवस्था रहेको छ, भने भारतको धारचुलाबाट ल्याउँदा प्रति डोज ५०० देखि ७०० रुपियाँ लाग्ने गरेको छ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीका कोल्डचेन असिस्टेन्ट ट्विङ्कल कुँवरका अनुसार खोप आपूर्ति हुन अझै दुई हप्ता लाग्न सक्नेछ। स्वास्थ्य सेवा विभागबाट पर्याप्त मात्रामा खोप आपूर्ति नहुँदा प्रदेशस्तरमा समेत अभाव हुने अवस्था रहेको उनले बताए।
जिल्ला अस्पतालका प्रमुख डा. सञ्जीव श्रेष्ठका अनुसार, रेबिजविरुद्धको खोप एक जनाले तीन डोजसम्म लगाउनु पर्ने हुन्छ। गत चैत महिनामा मात्रै ४८ जनाले खोप लगाएका थिए, जसमा १५ जना महिला र ३३ जना पुरुष थिए।
अस्पताल र स्वास्थ्य सेवा विभागबीच समन्वय गरी खोपको आपूर्ति छिटो गर्न स्थानीयवासीले आग्रह गरेका छन्।



