काठमाडौं – आज मे ४ तारिख, विश्वभरि ‘विश्व हाँसो दिवस’ मनाइँदैछ। ‘स्वास्थ्य, शान्ति र खुशीका लागि हाँसो’ भन्ने नाराका साथ मनाइएको यस दिवसले मानिसहरूलाई हाँसोका मानसिक, सामाजिक र औषधीय फाइदाबारे सजग गराउने उद्देश्य राखेको छ।
विश्व हाँसो दिवसको सुरुवात सन् १९९८ मा भारतका डा. मदन कटरियाले गरेका थिए, जसलाई हाँसो योगका प्रवर्तक मानिन्छ। हाँसोले संसारभरि सकारात्मक ऊर्जा फैलाउने, स्वास्थ्य सुधार गर्ने र तनाव घटाउने काम गर्ने उनको विश्वास छ।
कटरियाका अनुसार, शरीरले वास्तविक र बनावटी हाँसोबीच छुट्याउन नसक्ने भएकाले कृत्रिम रूपमा हाँसे पनि त्यसका सकारात्मक प्रभावहरू हुन्छन्। अनुसन्धानले पनि हाँसोका थुप्रै फाइदा पुष्टि गरेका छन्।
विशेषगरी, हाँसोले तनाव घटाउने हार्मोन कोर्टिसोलको मात्रा कम गर्छ, जसले मानसिक राहत दिन्छ। साथै, हाँस्दा अनुहारका करिब १५ मांसपेशी र शरीरका ६० भन्दा बढी मांसपेशी सक्रिय हुन्छन्। यस प्रक्रियामा ‘इन्डोर्फिन्स’ नामक प्राकृतिक पेनकिलर रसायन निस्कन्छ, जसले दुखाइ कम गर्न मद्दत गर्छ।

हाँसोले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने र रक्तचाप घटाउने पनि प्रमाणित भएको छ। यसले हृदय रोगको जोखिम कम गर्न महत्वपूर्ण भूमिका खेल्छ। यति मात्र होइन, हाँसोले सामाजिक सम्बन्धलाई मजबुत बनाउँदै दुई व्यक्तिबीचको आकर्षण समेत बढाउने वैज्ञानिकहरू बताउँछन्।
नेपालमा पनि विभिन्न हाँसो क्लब र योग केन्द्रमार्फत विश्व हाँसो दिवस मनाउने कार्यक्रमहरू आयोजना गरिएका छन्।








